तिहार लक्षित सुरक्षा योजना चुस्त,रातको १० बजे पछि देउसी नखेल्ने



हेटौंडा। प्रदेश ३ को राजधानी समेत रहेको मकवानपुर जिल्लामा तिहार लक्षित सुरक्षा योजना प्रहरी प्रशासनले चुस्त बनाएको छ। मकवानपुर प्रहरीले प्रदेश नाकासहित जिल्ला नाकाहरूमा प्रहरी खटाएर तिहार लक्षित सुरक्षा मजबुत बनाएको प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताए।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले १० बजे पछि देउसी भैलो नखेल्न अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेम राज जोशीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै १० बजेपछि देउसी भैलो खेले कानुनी कारबाही हुने भन्दै चेतावनी दिएका हुन्। यस्तै जिल्ला प्रशासन कार्यालय मकवानपुरले पटका, अतिशवाजी नगर्न आग्रह गरेको छ।

प्रशासनको आग्रहलाई नटेरे कानुनी दायरामा ल्याउने जनाएको छ।  त्यसैगरी बैतडीमा रातको समयमा देउसीभैलो खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीले  तिहारको अवधिमा राति ९ बजेपछि देउसीभैलो खेल्न रोक लगाएको हो। रातिको समयमा देउसीभैलोको नाममा उच्छृंखल गतिविधि हुनसक्ने भएकोले रोक लगाइएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।

नेपालीको दोस्रो ठूलो चाड तिहारलाई हर्षोल्लासका साथ मनाउन मर्यादित र अनुशासित तरिकाले देउसी खेल्न, मदिरा सेवन गरी होहल्लासहित आपाराधिक गतिविधि हुनसक्ने भएकोले चाडवर्प लक्षित सुरक्षा योजनाअन्तर्गत समय सीमा तोकिएका उनले बताए। तिहारलाई लक्षित गरेर शान्ति सुरक्षा अवस्था मजबुत बनाएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। तिहारमा जुवा-तास कौडा खेल्ने खेलाउने कार्यसमेत बन्द गरिएको छ।

यसका साथै पटाका लगायतका प्रज्वलनशील पदार्थ नपड्काउन र कुनै पनि प्रकारको अतिसबाजी नगर्न अनुरोध गरिएको छ। यदि यी र यस्ता कार्याहरू गरेको पाइएको कानुनबमोजिम कारवाही हुने जिल्ला प्रसासन कार्यालय बैतडीले जनाएको छ।

सम्बन्धित समाचार