एक महिनादेखि छोरी बेपत्ता, कुर्दैछिन् आमा



दमक । सबैतिर तिहारको चहलपहल छ। वर्षौं टाढा रहेका चेली पनि तिहार मनाउन माइती घर आउने गर्छन्। तर, यही बेला झापा गौरादह ९ बैगुनधुराकी लिला निरौला भने दुई भाइ छोराकी एक्ली चेली आफ्नी छोरीको खोजीमा भौतारिइरहेकी छन्। छोरीकै खोजीमा उनको को एक महिनादेखि भोक निद्रा हराएको छ।

२२ वर्षीया छोरी बिन्जू हराएसँगै उनको भोक निद्रा हराएको हो। गत असोज ५ गते मोबाइल मर्मतका लागि जान्छु भनेर घरबाट हिँडेकी छोरी एक महिनासम्म घर नफर्किएपछि उनी हारगुहार गर्दै कुदिरहेकी छन्।छोरीको खोजीका लागि प्रहरीमा पनि जानकारी गराइको र आफन्तहरूसँग पनि बुझेको तर पत्तो नलागेको उनले बताइन्।

‘मानसिक गडबडी जस्तो भए पनि मान्छे हट्टाकट्टा छ’ छोरीको खोजीका लागि दमक आइपुगेकी उनले भनिन्- ‘बल्लबल्ल हुर्काएकी जवान छोरी हराएकी छ, अब मैले कहाँ भेट्नु?’ यसअघि समेत आफन्तहरूकहाँ गएर केही दिनमा फर्किने गरेकी बिन्जू यस वर्ष भने दशैंका बेला पनि नआएपछि उनी झनै बढी आतिएकी हुन्। ‘

छोरीको बाटो हेर्दाहेर्दै दशैं बित्यो, सारा सबैतिर खोजी सकेँ’ ४७ वर्षीया लिलाले आँशु पुछ्दै भनिन् ‘एउटा छोरो मजदुरीका लागि  घर बाहिर छ, अर्कोले सघाइरहेको छ। तर, तिहार आइसक्यो छोरी अझै आइन।’ छोरी खोजी गरिदिन उनले जनप्रतिनिधि, प्रशासन, छिमेकी तथा आफन्त सबैतिर भने पनि पत्तो लाग्न नसकेको बताइन्।

सम्बन्धित समाचार