ब्यक्तिगत लगानीमा भेडेटारमा जिप फ्लाइ सञ्चालन हुदै




खाँदबारी । प्रदेश १ कै चर्चित पर्यटकीय गन्तब्य भेडेटार नजिकै रहेको काम्फेकमा जिप फ्लाइङ सञ्चालन हुने भएको छ । स्थानीय होटल व्यवसायीले साँगुरीगढी गाउँपालिका ६, काम्फेकस्थित खर्क डाँडाबाट जिप फ्लाइङको तयारी गरेका हुन् ।

जिप फ्लाइङमा होटल मेजेस्टिकका सञ्चालक आशिष राई र सप्सरा रिपोर्ट प्रालिका सञ्चालक किरण राईको लगानी छ । लगानीकर्ताहरुका अनुसार खर्क डाँडादेखि कार्कीछापसम्म जिप फ्लाइङ सञ्चालन हुनेछ । जिप फ्लाइङ सञ्चालनको लागि सम्भाव्यता अध्ययन सकिएको छ भने डिपिआर तयारीको लागि माटो परिक्षण भइरहेको आशिष राईले जानकारी दिनुभयो ।

खर्क डाँडामा टेक अफ भएको यो जिप फ्लाइङको ल्याण्डिङ भने कार्कीछापमा हुनेछ । सम्भाव्यता अध्ययनले जिप फ्लाइङ सञ्चालन सम्भव हुन्छ भन्ने रिपोर्ट आएकोले थप तयारी शुरु गरिएको उहाँले बताउनुभयो । डिपिआर तयारी भए रआगामी दशैं भित्र व्यवसायिकरुपमा सञ्चालन गर्ने गरी अनुमति लिने प्रक्रिया शुरुवात गरिने पनि उहाँले बताउनुभयो ।

जिप फ्लाइङको टेकअफ खर्क डाँडा काम्फेकदेखि ३ मिटर उत्तरतर्फ पर्छ । हालसम्मको अध्ययनबाट एरियल डिस्टेन्स १ हजार ४ सय किलोमिटर रहेको छ । दुई डाँडाबीचको उचाईको फरक २ सय ५५ मिटर रहेको छ । यो जिप फ्लाइङ सञ्चालन आए प्रदेश नं १ को पहिलो व्यवसायिक हुनेछ । जिप फ्लाइङ पोखरा र धुलिखेलमा मात्र सञ्चालनमा रहेको छ । यसअघि असोज दोस्रो साता धरानमा फ्लाइङ फक्सको परीक्षण गरिएको थियो । फ्लाइङ फक्स सुतेर चरा जस्तै उडेर मजा लिने साहसिक खेल हो भने जिप फ्लाइङ बसेर झर्ने खेल हो ।

सम्बन्धित समाचार