पाँचथरमा उपनिर्वाचन हुने तीनवटै तहका उम्मेदवारको नाम टुंगो लाग्यो



पाँचथर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पाँचथरमा उपनिर्वाचन हुने तीनवटै तहका उम्मेदवारको नाम टुंगो लगाएको छ । नेकपाले फाल्गुनन्द गाउँपालिका अध्यक्षमा वीरबहादुर कुरुम्बाङलाई उम्मेदवार बनाउने भएको छ ।

जिल्ला सचिवालयको बैठकले सोही गाउँपालिका इन्चार्जसमेत रहेका पूराना नेता कुरुम्बाङलाई अध्यक्षको एकल उम्मेदवार तय गरेको हो । उनी २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालिन एमालेबाट उम्मेदवार बनी करीव ७ सय मतले कांग्रेसका अमर नेम्वाङसँग पराजित भएका थिए ।

सो गाउँपालिकामा तत्कालिन माओवादी ७ सय मत सहित तेस्रो स्थानामा थियो । फाल्गुनन्द गाउँपालिकामा कांग्रेसले औपचारिक उम्मेदवार टुंगो नलगाए पनि बृजहाङ आङदेम्बेलाई खडा गर्ने भएको छ । उनी कांग्रेसका जिल्ला सचिव हुन् ।

नेकपाले पाँचथरकै फिदिम नगरपालिका १ को वडाध्यक्षमा गजाधर भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । सो वडामा यसअघि कांग्रेसले जितेको थियो । निर्वाचित वडाध्यक्ष हर्क मोक्तानको निधन भएपछि सो ठाउँमा उपनिर्वाचन हुँदैछ । भट्टराई यसअघि मोक्तानसँग पराजित भएका थिए ।

त्यस्तै हिलिहाङ गाउँपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नेकपाले गेहनाथ रिजाललाई उम्मेदवार बनाउने भएको छ । यसअघि एमालेले नै जितेको सो वडाका वडाध्यक्ष तीर्थराज तिम्सिनाको निधनपछि रिक्त पदमा उपचुनाव हुँदैछ ।

नेपाली कांग्रेसले भने वडाध्यक्षको उम्मेदवार टुंगो लगाइसकेको छैन । यद्यपी हिलिहाङको वडाध्यक्षमा तिलविक्रम इधिङ्गोलाई उम्मेदवार बनाइने कांग्रेस नेताहरुले बताएका छन् ।

पाँचथरका उपचुनाव हुने तीनवटै तहमा नेकपा र कांग्रेस मुख्य प्रतिस्पर्धी हुन् । यसपटक सबै परिणाम आफ्नो पक्षमा पर्ने गरी प्रचार प्रसार र तयारीमा लागिएको नेकपा नेता तथा सांसद बसन्त नेम्वाङले बताए । कांग्रेस नेता बृहजहाङले पनि तीनमध्ये दुई स्थान विगतमा कांग्रेसले जितेको हुनाले ती ठाउँ गुमाउन नदिन तयारी भइरहेको बताए ।

सम्बन्धित समाचार