आलम प्रकरण : घाइतेलाई इँटाभट्टामा जलाएको प्रहरीको निश्कर्ष



रौतहट । प्रहरीले सांसद अफताल आलम समेतको संलग्नतामा बम विस्फोटका घाइतेहरुलाई इँटा भट्टामा जलाएको निष्कर्षसहितको अनुसन्धान प्रतिवेदन तयार पारेको छ ।

२०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विष्फोटमा संलग्न रहेको आरोपमा रौतहट २ का सांसद आलम १९ दिनदेखि प्रहरी हिरासतमा छन् । ‘अनुसन्धानका विविध पक्षहरु समेटेर हामीले मिसिल तयार गरेका छौं’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीले भने ‘अनुसन्धान प्रतिवेदनलाई अन्तिम रुप दिएर आजै सरकारी वकिलको कार्यालयमा बुझाउँछौं ।’

अनुसन्धानका क्रममा प्रहरीले तत्कालीन प्रहरी प्रमुख ओमविक्रम राणा, तत्कालीन मध्यक्षेत्र प्रहरी प्रमुख डीआईजी किरण गौतम र तत्कालीन सरकारी वकिल ध्रुवमणि ज्ञवालीसँग पनि बयान लिएको छ । प्रहरीले उनीहरु भएकै ठाउँमा पुगेर बयान लिएको हो । यसैगरी घटनाका समयमा राजपुरमा खटिएका तत्कालीन प्रहरी निरीक्षक इन्द्र सुवेदी र राजीव बस्नेतले पनि बयान लिइएको छ ।

प्रहरीले घाइते सफी मोहम्मद र घटनामा प्रत्यक्षदर्शी एवं मतृक ओसी अख्तरका ससुरासँग पनि बयान लिएको छ ।

अनुसन्धानका क्रममा प्रहरीले घाइतेहरुलाई इँटा भट्टासम्म पुर्‍याउन प्रयोग भएको ट्याक्टर बरामद गरेको छ भने घाइतेहरुको उपचार गरिएको भारतीय अस्पतालको रिपोर्ट पनि ल्याइएको छ ।प्रहरीले राजपुरमा बम विस्फोट भएको र त्यहाँ ज्यान गुमाएका वा घाइते भएकाहरुलाई इँटा भट्टामा लगेर जलाएको ठहर गरेको छ ।

सम्बन्धित समाचार