हतियारसहित लघु वित्तका कर्मचारी पक्राउ



विराटनगर । जीवन विकास समाज लघुवित्तका एक कर्मचारीसहित दुई जनालाई मोरङ प्रहरीले १ थान अटोमेटिक पेस्तोलसहति पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनपालथान ७ कदमहाका २८ वर्षीय मुकेशकुमार मण्डल र कटहरी २ का सुरज भन्ने बिक्कीकुमार भगत रहेका छन्।

मण्डल उदयपुरको रामपुर ठोक्सिलास्थित जीवन विकास लघुवित्त संस्थामा फिल्ड सहायकको रूपमा कार्यरत रहेको प्रहरीको दाबी छ। प्रहरीले भगतलाई एक थान अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने २ थान म्यागजिन र लोड गरिएको अवस्थामा १ राउण्ड गोलीसहित पक्राउ गरेको हो। छठ पूजाको अवसर पारेर कटहरी १ सिंघीया खोलापूर्व आयोजना गरिएको सांस्कृतिक कार्यक्रबाट शनिबार राति पक्राउ गरिएको हो।

सांस्कृतिक कार्यक्रम भइरहेको बेलामा उश्रृंखल गतिविधि गर्ने समूहले ढुंगा प्रहार गरेपछि डिउटीमा खटिएको प्रहरीले टोलीले तत्काल केही व्यक्तिलाई नियन्त्रणमा लिएर शरीर खनतलासी गर्दा हतियार बरामद भएको हो। प्रहरीले भगतलाई पेस्तोलसहित पक्राउ गरेकोपछि उसकै बयानका आधारमा आइतबार राति नै मोरङको कदमाबाट लघुबित्तीय संस्थाका फिल्ड सहायकको रुपमा कार्यरत मण्डललाई पक्राउ गरिएको हो।

सम्बन्धित समाचार