सडक दुर्घटनामा श्रीमान छोरीको निधन भएपछि आमा बेहोस



विराटनगर। सडक दुर्घटनामा पेसाले डाक्टर बाबु र नर्स छोरीको निधन भएको छ। मोरङको बुढीगंगा गाउँपालिकामा मोटरसाइकलमा सवार बाबु छोरीलाई यात्रुबहाक बसले ठक्कर दिएको हो। ठक्कर लगत्तै उपचारका लागि विराट मेडिकल कलेजमा लगिएको थियो। उपचारका क्रममा नै उनीहरु दुवैजनाको निधन भएको नेमुवा ट्राफिक प्रहरी इन्चार्ज तुलामणी आचार्यले बताए।

प्रहरीका अनुसार मृत्यु हुनेमा विराटनगरको गोल्छा आँखा अस्पतालमा कार्यरत ५२ वर्षिय शुभलाल माझी र उनकी २६ वर्षिया छोरी अञ्जलीकुमारी माझी रहेका छन्। अञ्जली विराटनगरको न्युरो अस्पतालमा स्टाफ नर्सका रुपमा कार्यरत थिइन्।

विराटनगरबाट दुहवी तर्फ जाँदै गरेको को१ख ७२३२ नम्बरको यात्रुबहाक बसले दुहवीबाट विराटनगर तर्फ आउँदै गरेको को२७प १०२२ नम्बरको मोटरसाइकलमा सवार बाबु र छोरीलाई ठक्कर दिएको हो। प्रहरीले ठक्कर दिने बसका चालक सन्दिप खत्रीलाई नियन्त्रणमा लिएको छ। ३४ वर्षिय चालक खत्री धनगढीका हुन्।

‘छोरीलाई अस्पताल छोडेर आफू पनि ड्युटीमा जाने भनी हिँडेका बखत बसले ठक्कर दिँदा दुबैको निधन भएको हो । शुभलाल छोरीलाई सधैंजसो न्युरोमा पुर्‍याएर आफू आँखा अस्पताल जान्थे। दुबैको शव पोस्टमार्टमका लागि कोसी अञ्चल अस्पतालमा राखिएको छ।

बाबुछोरी दुवैको स्थायी घर भने मोरङ सुन्दर-हरैंचा नगरपालिका-११ हो। आफन्त विसनलाल चौधरीका अनुसार शुभलाल हरैंचाबाट छोरीलाई लिन बुढीगंगा पुगेका थिए। बुढीगंगा-५ अञ्जलीको मावली घर हो। उनी ड्युटी सक्दा अबेर भए त्यहीँ बस्थिन्। रातविरात काममा जानुपरे मावली बस्थिन्।

‘दुबै जना घरबाट सँगसँगै जाने-आउने गर्थे, अञ्जली ढिलो हुँदा मावली बस्थिन्,’ सो वडाका वडाध्यक्षसमेत रहेका विसनलालले भने, ‘आज फूपाजू घरैदेखि बुढीगंगा छोरीलाई लिन आउनुभएको थियो।’ शुभलालकी श्रीमती राजकुमारी माझी घटना सुनेपछि बेहोस छिन्। उनलाई विराट मेडिकल कलेजमा भर्ना गरिएको छ। विसनलालका अनुसार यो परिवारमा अब राजकुमारी र उनकी सासु जगुवादेवी माझी मात्र छन्। शुभलालकी जेठी छोरी कल्पनाको तीन वर्षअघि नै निधन भइसकेको छ।

सम्बन्धित समाचार