आफ्नै गर्भमा रहेको नवजात शिशु मारेर गाडेको अभियोगमा १५ वर्षीय बालिकालाई पक्राउ



माेरङ । आफ्नै गर्भमा रहेको नवजात शिशु मारेर गाडेको अभियोगमा प्रहरीले मोरङको कानेपोखरी गाउँपालिका–६ की १५ वर्षीय बालिकालाई पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) रामबहादुर ढकाल नेत्रृत्वको टोलीले मंगलबारसाँझ शिशुकी आमा रहेकी बालिकालाई पक्राउ गरेको हो । स्थानीय मेनुका दवाडीको घर पछाडि रहेको करेसाबारीमा सात महिनाको शिशुलाई गाडेको अवस्थामा मंगलबार साँझ मृत फेला पारिएको थियो । बारीमा टमाटर रोप्ने क्रममा हातले माटो खोस्रदा शिशुको हात तानेपछि मेनुकाले आत्तिएर हारगुहार गर्दै प्रहरीलाई खवर गरेकी थिइन् ।

इन्सपेक्टर ढकालले सालनाल समेत नकाटिकन लगभग एक फुट जति खनेर गाडेको अवस्थामा शिशु भेटिएको बताए । आमा बालिका भएकाले उनको परिचय भने गोप्य राखिएको छ । हत्या गरेर शिशु फ्यालेको पाइएपछि आमालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मृत भेटिएकी शिशु छोरी हुन् । गाडेको ठाउँबाट बाहिर निकाल्दै प्रहरीले मृत शिशुलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा लगेको छ ।

पक्राउ परेकी बालिकाले केही दिन अघि गर्भपतनको औषधि समेत सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । औषधि सेवन गरेर गर्भपतन गर्दै शिशुको हत्या गरेको आरोपमा पक्राउ परेकी बालिकाको स्वास्थ्यमा केही समस्या रहेको पाइएपछि उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल लगिएको इन्सपेक्टर ढकालले बताए ।

शिशुको बुवा पत्ता नलागेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । गत वैशाखमा कानेपोखरी गाउँपालिका–७ स्थित ठूलो बुवाको घरमा गएका बेला चिनजान भएका युवकसँग अवैध सम्बन्ध भएको र त्यही बेला गर्भ बसेको पक्राउ परेकी बालिकाले स्वीकार गरेको इन्सपेक्टर ढकालले बताए । नाम र ठेगाना भने बालिकाले पनि दिन नसकेको र प्राप्त हुलियाका आधारमा युवकको खोजी भइरहेको उनले बताए । ढकालले डीएनए परीक्षणका लागि पनि नमुना पठाइने जानकारी दिए ।

सम्बन्धित समाचार