ससुराले बुहारीलाई बोक्सी भन्दै फलाम तताएर डाम्न खोजेपछि बुहारी माइतीको शरणमा



पाँचथर । याङ्वरक गाउँपालिका-२, फलैँचामा ससुराले बोक्सी भन्दै फलाम तताएर डाम्न खोजेपछि बुहारी माइतीको शरणमा पुगेकी छिन् ।

हिलिहाङ गाउँपालिका ३ को कुर्लुम्बामा माइती भएकी पूजा भारतीले आफूलाई ससुरा कान्तप्रसाद गिरीले मंगलबार बोक्सी भन्दै यातना दिएको बताउनुभएको छ । ससुराले छिमेकी महेन्द्रप्रसाद पौडेलसँग मिलेर निर्घात कुटपिट गर्नुका साथै फलाम तताएर डाम्न खोजेको पीडित पूजाले बताउनुभयो ।

कुटपिटपछि ससुराले डाम्नलाई फलाम तताउँदै गर्दा महेन्द्रले समाइरहेको अवस्थामा आफू फुत्किएर भाग्न सफल भएको उहाँले भन्नुभयो ।

उहाँ अहिले माइतीको शरणमा पुग्नुभएको छ । गएको भदौ ३१ गते राति कान्तप्रसाद र महेन्द्रप्रसादले आफूलाई बोक्सी भन्दै निर्धात कुटपिटसमेत गरेको पूजाको भनाइ छ ।

त्यही रात नजिकैको प्रहरी चौकीमा ठाडो उजुरी दिए पनि प्रहरीले बेवास्ता गरेको उहाँले गुनासो गर्नुभयो । प्रहरीले जाहेरी विनाकारबाही गर्न नमिल्ने भनेपछि गएको असोज २७ मा जाहेरी गरे पनि प्रहरीले पीडकलाई अझै पक्राउ नगरेको उहाँको दुखेसो छ ।

घटनापछि कान्तप्रसाद र महेन्द्रप्रसाद अहिले फरार रहेको पाँचथरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनिलकुमार पौडेलले बताउनुभयो । कान्तप्रसादले धामीको काम गर्ने गरेको बताइएको छ ।

कान्तप्रसादले ‘मेरो छोरो खान लागिस्, घटेर मर्न लाग्यो’ भन्दै ससुराले यातना दिएको पीडित पूजाको भनाइ छ । सासुले पनि ‘बोक्सी’ भन्दै मानसिक यातना दिने गरेको उहाँले बताउनुभयो ।

बावुआमाकै कुरा सुन्ने गरेका श्रीमान तेजप्रसाद गिरीबाट पनि आफू अपहेलित भएको पीडित पूजाले बताउनुभयो । फरार आरोपितहरुको खोजी भैरहेको इन्स्पेक्टर पौडेलले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार