अपहरणमा परेका एक बालकको सकुशल उद्धार,गोली हानी अपहरणकारी नियन्त्रण



वीरगन्ज ।वीरगन्जमा प्रहरीले अपहरणमा परेका एक बालकको सकुशल उद्धार गरेको छ । वीरगन्ज महानगरपालिका २५ सिर्सिया घर भइ हाल काभ्रेको बनेपामा बस्दै आएका अमजद खानका १४ वर्षीय छोरा कात्तिक १० गते बनेपबाट वीरगन्ज घर आउने क्रममा अपहरणमा परेका थिए।

अपहरणकारीलाई फिरौति रकम बुझाउन जाँदा प्रहरीले गोली हानी नियन्त्रणमा लिएपछि बालकको उद्दार गरिएको हो।गोली हानेर नियन्त्रणमा लिइएका दासले दिएको बयानका आधारमा अपहरित बालककलाई भारतीय प्रहरीको सहयोगमा सीमावर्ती भारतीय गाउँबाट सकुशल उद्धार गरिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए।

अपहरीत बालकका बुवा अमजदले अपहरणकारीले मागेको फिरौती रकम लिएर नेपाल भारतको सीमा क्षेत्रमा पर्ने वीरगन्जको सिर्सिया खल्वाटोलमा बुधबार बिहान पुगेका बेला प्रहरीले अपहरणकारी मध्येका एकजनालाई गोली हानेर नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा पर्साकै पोखरीया नगरपालिका ६ सोनवारीका २० वर्षीय राजकुमार दास रहेका छन्। उनको दाहिने खुट्टाको घुँडामुनि गोली लागेको छ । घाइते अपहरणकारी दासको वीरगन्जकै नारायणी उपक्षेत्रीय अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

उद्धार गरिएका बालकलाई अभिभावकको जिम्मा लगाइएको जानकारी पनि उनले दिए ।  पक्राउ परेका अपहरणकारी दासको साथबाट नलकटुवा पेस्तोल एक थान , त्यसमा लाग्ने गोली ५ थान , मोबाइल १ थान , ब्लु टुथ एक थान र फिरौती माग्न आउँदा उनले प्रयोग गरेको बी आर २२ जे ०८०३ नम्बरको मोटरसाइकल पनि बरामद भएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।

बालकको अपरहणमा संलग्न अरु दुईजना फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए । असुरक्षाका कारण उद्धार गरिका बालकको नाम र उद्धार गरिएको स्थानको नाम दुवै गोप्य राखिएको पनि प्रहरी उपरीक्षक राठौरले बताए।

सम्बन्धित समाचार