खेतमा पाक्न लागेको धान फौजी किराले नष्ट पारेपछि किसान चिन्तित



धरान । खेतमा पाक्न लागेको धान फौजी किरा र फड्के किराले नष्ट पारेपछि धरानका किसानहरु चिन्तित बनेका छन् । धरान उपमहानगरपालिकाको वडा नम्बर ५ र ६ को पानवारीमा फड्के किराले पाक्न लागेको धान बोटमा नै खाएपछि धानवाली पूर्ण रुपमा नष्ट भएको छ ।

फौजी र फड्के किराले धानको बोटै मर्ने गरी खाएपछि पानवारीको सयौं विघा खेतमा लगाएको धानवाली नष्ट भएको छ । फड्के किराले धानबाली नष्ट बनाएपश्चात पानवारीमा मात्र ६ सय विघाभन्दा बढी जमिनमा किसानले लगाएको धानवाली नष्ट भएको धरान ६ का वडाअध्यक्ष भुवनसिंह बस्नेतले बताए । उनले किराले धानवाली नष्ट बनाएपश्चात पीडित किसानले वडा कार्यालयमा क्षतिपुर्तिका लागि निवेदन दिन थालेको बताएका छन् ।

धरान ५ का किसान शुकबहादुर लिम्बुले फौजी र फड्के किराले खेतमा पाक्न लागेको धानवाली नष्ट बनाएका कारण किसानहरुको लगानी खेर गएको गुनासो गरेका छन् । उनले धरान ५ का ठिगांवारीमा मात्र पाँचसय विघाभन्दा बढी खेतमा लगाइएको धानवाली नष्ट भएको बताए । फौजी र फड्के किराले हरियो धानको पात, बाला तथा डाँठ चुसेर बोट मार्ने गरेको अर्का किसान गोविन्द महतले बताए । उनले धानबाली नष्ट भएका कारण यो वर्ष किसानहरुलाई खाद्य संकट उत्पन्न हुने भन्दै उचित क्षतिपुर्तिको व्यवस्था गर्न सरकारसंग माग गरेका छन् ।

धरान ५ को ठिंगाबारी र  ६ नम्बर वडाको  पानवारी देशकै दोस्रो कृषि उर्वरभूमि भनेर कृषि मन्त्रालयले सुचिकृत गरेको क्षेत्र हो । फड्के किरा र फौजी किराले हरियो धानको पात, डाँठ तथा बाला चुसेर बोट मार्ने गरेका कारण धानवाली नष्ट भएको कृषि अनुसन्धान केन्द्र तरहराका कीट विज्ञ किशोर भण्डारीले बताए । उनका अनुसार फड्के किराको नियन्त्रण गर्न नसके यसले निरन्तर किसानलाई दुःख दिने उनको भनाइ छ । एउटा फड्के किराले एकपटकमा २ सयभन्दा बढी फूल पार्ने र हप्ता दिनमा बच्चा निकाल्ने गरेका कारण किराको संख्या बृद्धि हुने भण्डारीले बताए ।

धरान उपमहानगरपालिका कृषि प्राविधिक नगेन्द्र तामाङले किराले धानवाली नष्ट गरेपछि किसानलाई बाँकी रहेको धानवाली तत्काल काटेर थन्काउन सल्लाह दिएको बताए ।

सम्बन्धित समाचार