सशस्त्र प्रहरीले छाप्रोमा पेट्रोल छर्किएर आगो लगाएपछि



भद्रपुर।सशस्त्र प्रहरी टोली हातमा पेट्रोल र सलाई बोकेर दौडिएर आए। एउटा घरको छाप्रोमा पेट्रोल छर्किएर आगो लगाए। यसरी सशस्त्र प्रहरीले छाप्रोमा आगो लगाउँदा हेर्नेको व्यक्तिको भीड जम्मा भयो। कसैले केही बोल्न सकेन, सबै टुलुटुलु हेरेर बसे। यो दृष्ट हो नेपालको होचो भू–भाग कचनकवलमा शुक्रबार आयोजित एक दिने बृहत् घुम्ती शिविर सञ्चालन कार्यक्रमको। कचनकवल गाउँपालिका २ सुकुनाडिकी स्थित लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालयको मैदानमा अस्थायी रूपमा निर्माण गरिएको खरको छाप्रोमा सशस्त्र प्रहरीले पेट्रोल छर्केर आगो लगाएको र यसबाट बच्ने उपाय त्यहाँका बासिन्दालाई सिकाउँदै थिए।

  आगलागीबाट कसरी बच्न सकिन्छ भन्ने सर्वसाधारणलाई सचेत गराउन यो दृष्टसहितको क्रियाकलाप देखाइएको हो। सशस्त्र प्रहरी बल गण नम्बर २ झापाबाट गएको टोलीले ग्याँस सिलिन्डरबाट आगो लाग्दा हुने भौतिक तथा मानवीय क्षतिको बारेमा पनि जानकारी गराएका थिए। ग्यास पकडिँदा ठूला भवन तथा होटल, घरमा लागेको आगो निभाउने प्रयोगका बारेमा प्रस्तुतीकरण गरिएको थियो।

त्यसै गरी नेपाल प्रहरीले विद्यार्थीलाई लागुऔषध, साइबर क्राइम, शान्ति सुरक्षा लगायत जनजेतनामूलक वृत्त चित्र प्रस्तुत गरेर सचेतना दिएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए। साथै प्रहरीले विद्यार्थीलाई साझेदारीको विषयमा जानकारी मूलक पर्चा समेत वितरण गरेका थिए।

त्यसै गरी नेपाली सेनाले सर्प दंशको चेतना वृद्धि, डुबानबाट बच्ने तरिकाबारे जानकारीसहित दृश्य प्रस्तुत गरेका थिए। सो शिविरमा वस्तुगत कार्यालयहरूले छुट्टाछुट्टै सेवा तथा जन चेतनाको जानकारी गराएका थिए। प्रशासन कार्यालय झापाबाट नयाँ नागरिकता वितरण गर्ने कार्यक्रम राखेपनि किर्ते नागरिकताको काण्डले गृह मन्त्रालयले सो गाउँपालिकालाई अनुमति नदिएका कारण धेरै सेवाग्राही नागरिकता नलिई फर्किन बाध्य भएका थिए।

सम्बन्धित समाचार