पोखराका मेयर मानबहादुर जिसीले सार्वजनिक शौचालय उद्घाटन गरे



पोखरा । पोखरा महानगरका मेयर मानबहादुर जिसीले पोखरा-१२ अमरसिंहमा बनेको सार्वजनिक शौचालय उद्घाटन गरेका छन् । ‘स्मार्ट’ शौचालय नाम दिइएको शौचालय अपांगमैत्रीसमेत छ ।

अमरसिंह चौर पोखराको व्यस्त चौर पनि हो, जहाँ ठूलो मैदान भएकाले मेला महोत्सवका साथै शारीरिक व्यायाम गर्नेको भीड लाग्छ । तर सार्वजनिक शौचालय नहुँदा समस्या थियो ।

पोखरा महानगर, रोटर्‍याक्ट क्लब, लायन्स क्लब, अमरसिंह व्यापार, व्यवसाय समितिको संयुक्त लगानीमा शौचालय बनेको हो । करिब २६ लाख खर्चिएर बनाएको शौचालयमा वत्ति पानीको व्यवस्था छ । शौच गरिसकेपछि स्वचलित पानी आउनुका साथै चिसो हात सुकाउने सुविधा समेत छ ।

अमरसिंह चौरमा साना तथा ठूला कार्यक्रम भइरहने तर सार्वजनिक शौचालय अभावकै कारण भोग्नुपर्ने समस्याको समाधान भएको उपभोक्ता समिति अध्यक्ष ओमप्रसाद सुवेदीले दाबी गरे ।

कार्यक्रममा मेयर जिसीले महानगरमा व्यवस्थित शौचालय बनाउन सुरु गरेको बताए । ‘महानगरभित्र सार्वजनिक शौचालय नबनेका होइनन् तर, व्यवस्थित गर्न नसक्दा प्रयोगविहीनजस्तै बनेका छन्,’ उनले भने, ‘अब सबै सार्वजनिक शौचालयलाई व्यवस्थित गर्न लागेका छौं ।’

महानगरले मालपोत कार्यालयसँगै सराङकोट भकुन्डे, ठूली पोखरी, सहिदपार्कमा अपांगमैत्री शौचालय बनाइरहेको छ ।

सम्बन्धित समाचार