सुनसरीका २० ठाउँमा नेपाली भूमि अतिक्रमण



धरान । भारतीयले सुनसरीको दक्षिणी क्षेत्रमा २० ठाउँमा नेपाली भूमि अतिक्रमण गरेका छन्। ती ठाउँमा उनीहरूले फुसका घर बनाएको र खेतीपाती गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय सुनसरीका प्रमुख कृष्ण ढकाल बताउँछन्।

उनका अनुसार सुनसरीमा चारवटा मुख्य र १९ सहायक सीमास्तम्भ हराएका छन्। आफू सुनसरीमा आउनुअघि नेपाली भूमि र दसगजामा भारतले गेट बनाएकाले हटाउन समस्या भएको उनको भनाइ छ। कोसी गाउँपालिकाको भान्टाबारीस्थित सशस्त्र प्रहरीको चेकपोस्टनजिकै दसगजा क्षेत्र अतिक्रमण गरी स्वागतद्वार बनाएको हो। यसबारे सुनसरी प्रशासन भने बेखबर पाइएको छ। सरकारले भने अतिक्रमित भूमि फिर्ता गर्न चासो देखाएको छैन। बर्जु, देवानगन्ज, हरिनगरा, भोक्राहा नर्सिङ र कोसी गाउँपालिकामा भारतले अतिक्रमण गरेको छ।

भारतको विहार राज्यसँग सिमाना जोडिएका साबिकका श्रीपुर, हरिपुर, नरसिंह, लौकही, घुस्की, बसन्तपुर, देवानगन्ज, अमडुवा, राजगन्ज सिनुवारी गाविसमा भारतले अतिक्रमण गरेको इनरुवाका पूर्वमेयर गोपाल कोइराला बताउँछन्। भारतीयले अतिक्रमित भूमिमा ५ सयभन्दा बढी घरटहरा बनाएर बस्ती बसाएको उनको भनाइ छ। साहेवगन्जमा भारतीयले बस्ती बसाउँदा पनि सरकारले नेपाली भूमि खाली नगर्नु दुर्भाग्यपूर्ण रहेको उनी बताउँछन्। उनका अनुसार राणा प्रधानमन्त्री भीम शमशेरले बसाएको भीमनगरको पूरै बस्ती भारतीय अतिक्रमणमा परेको छ।

सम्बन्धित समाचार