बेसहारा मानिसको विराटनगरमा उद्धार शुरु



विराटनगर । दिनरात कठिन जीवनयापन गरिरहेका बेसहारा मानिसलाई विराटनगरमा उद्धार शुरु गरिएको छ ।बेसहारा सडक मानवमुक्त नगर बनाउने अभियानअनुरुप सडक पेटी, गल्ली बस्ने यस्ता मानिसले अब नयाँ जीवन पाउने भएका छन् ।

विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा तिनटोलियमा भर्खरै स्थापना भएको मानवसेवा आश्रमस्थलमा अहिले आठ जना बेसहारा मानिसलाई उद्धार गरेर उनीहरुलाई उचित बास, खाना र उपचारको प्रबन्ध मिलाइएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।

विराटनगर महानगरपालिकाको ट्राफिक चोकस्थित नमस्कार होटलको अगाडि विगत दुई वर्षदेखि मागेर जीवनयापन गरिरहेका नाम र ठेगाना खुल्न नसकेका एक मानिसलाई आइतबार उद्धार गरिएको छ ।

यी मानिस केही वर्षअघि तिनटोलियामा लगभग १० वर्ष वरपर मागेर जीवन बिताएको स्थानीय धनसुन्दर प्रधानले बताए ।

बेसहारा ती मानिसलाई उद्धार गर्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरलाई अगामी मङ्सिर महिनाभित्रमा बेसहारा सडक मानवमुक्त बनाउने घोषणा गरे।

उनले बेसहारालाई उद्धार गरेर नयाँ जीवन दिन पाउँदा निकै खुशी लागेको र जीवनमा योभन्दा पुण्यको अरु काम हुन नसक्ने विचार व्यक्त गरे ।

उनले आइतबार विराटनगरस्थित ग्लोबल बैंकको अगाडिबाट एक मानसिक रोगी बेसहारा महिलालाई उद्धार गरेर आश्रमलाई जिम्मा लगाए ।

उद्धारमा प्रमुख पराजुली, उपप्रमुख इन्दिरा कार्की, प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतम, सञ्चारकर्मी र आश्रमका टोली संलग्न थिए ।

आश्रमले प्रदेशभरिमा यो अभियान लागू गर्ने र कुनै पनि बेसहारा मानिसले उचित रेखदेख, खाना, बास र स्वास्थ्यको अभावमा ज्यान गुमाउनु नपरोस् भन्ने अभियान थालेको अध्यक्ष अधिकारीको  भनाइ छ ।

केही वर्ष पहिले धनकुटामा ओभरसियर पढ्दै गरेकी एक युवतीको मानसिक सन्तुलन बिग्रिन गएपछि पढाइ छाडेको अवस्थामा उनीमाथि सामूहिक बलात्कार पछि गर्भ बोकेर अहिले नानीसहित आश्रममा रहेको बताइएको छ ।

सो आश्रममा १०० जना मानिसलाई व्यवस्थापन गर्न सकिने र यसभन्दा बढी भएमा महानगरपालिकाले जग्गा खोजेर एक व्यवस्थित भवन बनाइदिने आश्वासन प्राप्त भएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

सम्बन्धित समाचार