विराटनगरमा शिक्षकको कुटाइबाट विद्यार्थी घाइते



विराटनगर । विराटनगर – ४ राजवंशी चौकस्थित अर्पण स्कुलका शिक्षकले एक जना विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । अर्पण स्कुलका सञ्चालक पनि रहेका शिक्षक निमेष बस्नेतले धाराको पाइपले कक्षा ८ मा अध्ययरत मोरङ बुढीगंगा गाउँपालिका – २ टंकिसीनवारीकी १४ वर्षीय रोश्नी भण्डारीलाई निर्घात कुटपिट गरेका हुन् ।

शिक्षक बस्नेतको कुटाइबाट विद्यार्थी घाइते भएकी छिन् । स्कुलले लिएको दोस्रो सेमिस्टरको परीक्षामा फेल भएको र नियमित स्कुल नआएको भन्दै हिजो दिउँसो शिक्षक बस्नेतले विद्यार्थीलाई धाराको पाइपले कुटपिट गरेको पीडित विद्यार्थीको भनाइ छ ।शिक्षकले पाइपले कुटपिट गर्दा विद्यार्थी भण्डारीको शरीरको पछाडिको भागमा गहिरो चोट लागेको रोश्नीकी आमा पुष्पा भण्डारीले बताइन् ।

बस्नसम्म हुन नसक्ने गरि छोरीमाथि शिक्षकले कुटपिट गरेको उनको भनाइ छ । त्यही पीडाले रातभरी छोरी नसुतेको पुष्पाले बताइन् । स्कुलले लिएको परीक्षामा रोश्नीले विज्ञान, स्वास्थ्य र भोकेसनल विषयमा फेल भएको भन्दै शिक्षक बस्नेतलले कक्षा कोठादेखि बाहिर निकालेर पाइपले कुटपिट गरेको उनका साथीहरुले बताएका छन् ।

यस अघि पनि शिक्षक बस्नेतले पटक पटक विद्यार्थीमाथि कुटपिट गर्ने गरेको विद्यार्थीहरूको आरोप छ । अर्पण स्कुलका प्रिन्सिपल सुवास विष्टले विद्यार्थीमाथि कुटपिट भएको स्वीकार गरे । ‘नियमित स्कुल नआएपछि तर्साउन शिक्षकले कुटपिट गरेको हुनु पर्छ,’ प्रिन्सिपल विष्टले भने, ‘विद्यार्थीलाई नपिटी पढाउन सबै शिक्षकलाई भनेको भए पनि रिसको झोंकमा शिक्षकले विद्यार्थीलाई कुटेको थाहा पाएँ ।’ छलफल गरेर विवाद मिलाउने उनले बताए ।

पीडितका आफन्तले निर्घात कुटपिट गर्ने शिक्षकलाई कारबाहीको माग राख्दै जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिने तयारी गरेका छन् । अभिभावकले कुटपिटबाट पीडित भएकी बालिकाको स्वास्थ्य परीक्षण र उपचार कोसी अस्पतालमा गराएका छन् ।

सम्बन्धित समाचार