मोहमद आफताव आलमविरुद्व कर्तव्य ज्यानसहितको मुद्दाको थुनछेक बहस लम्बियो



रौतहट। नेपाली कांग्रेसका सांसद मोहमद आफताव आलमविरुद्व दायर भएको कर्तव्य ज्यानसहितको मुद्दामा थुनछेक बहस लम्बिएको छ ।रौतहट जिल्ला अदालतमा थुनछेक बहस भएको सातौं दिन बुधबार पनि प्रतिवादीतर्फका चारजना कानुन व्यवसायीले बहस गरेका छन् ।

बुधबार आलमका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, अधिवक्ता अजय पटेल, लालबाबु राय र सन्जिव मल्लिकले बहस गरेका हुन् ।गएको बिहीबारदेखि आलमको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । हालसम्म आलमका तर्फबाट ११ जना अधिवक्ताहरुले बहस गरेका छन् ।

सरकार र जाहेरवालातर्फका कानुन व्यावसायीको बहस सकिएपनि प्रतिवादीका कानुन व्यवसायीको बहस जारी रहेको हो ।प्रतिवादीका कानुन व्यवसायीको बहस टुंगिएपछि जाहेरवाला र सरकारी वकिलले प्रतिबहस गर्न सक्छन् ।

थुनछेक बहस टुंगिएपछि अदालतले आलमविरुद्ध परेको मुद्दामा थुनामा राखी पुर्पक्ष गर्ने, धरौटीमा छाड्ने वा साधारण तारिखमा छाड्ने भन्ने आदेश दिनेछ ।आलमसहित ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । अरु १० जना भने फरार छन् ।

आलमविरुद्ध कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटन गरी तीनओटा मुद्दा दायर गरिएको छ ।जिल्ला सरकारी वकिलको कार्यालयले तीन अभियोगमा जन्मकैदको सजाय माग–दाबी गर्दै मुद्दा दर्ता गरेको थियो ।

वि.सं. २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइते भएका नारायणसिंह राजपुतका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंह र रुक्साना खातुनका छोरा वसी अख्तरसहितलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोप उनीमाथि लागेको छ ।

सम्बन्धित समाचार