खानेपानीका दुई कर्मचारी कारागार चलान, सचिव फरार



संखुवासभा । संखुवासभाको बृहत खाँदबारी खानेपानी तथा उपभोक्ता सरसफाई कार्यालयको दुई कर्मचारी कारागार चलान भएका छन्। तत्कालीन काउन्टर सहायक सुरेश ढकाल र मिटर रिडर विक्रम बराल कारागार चलान भएको हुन्। खानेपानी कार्यालयले तत्कालीन काउन्टर सहायक सुरेशलाई १३ लाख ९५ हजार ४७ रुपैयाँ रकम घोटलाको आरोपमा मुद्दा दायर गरेको थियो। उनीहरूलाई प्रहरीले एक महिनाअघि पक्राउ गरेको थियो। पक्राउ परेका काउन्टर सहायक सुरेशको बयानका आधारमा प्रहरीले मिटर रिडर बरालसमेत पक्राउ गरेको थियो।

प्रहरीले उनीहरूलाई ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएको संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए। काउन्टर सहायक सुरेशले घोटला गरेको १३ लाख ९५ हजार ४७ रुपैयाँ रकम नबुझाएपछि खानेपानी उपभोक्ता समितिले जिल्ला प्रहरी कार्यालयमा गत भदौ ७ गते जाहेरी दिएको थियो।  रकम घोटलामा सम्लग्न देखिएपछि समितिका सचिव फरार खानेपानी समितिको २० लाख बढी रकम घोटालामा सम्लग्न भएका खानेपानी उपभोक्ता समिति सचिव डिल्ली श्रेष्ठ फरार भएको प्रहरीले जनाएको छ।

सचिव श्रेष्ठले कर्मचारीसँग मिलेर लाखौँ रकम घोटला गरेको आरोप लागेपछि उनीसमेत तानिने भएका छन्। सुरेशले सचिवको आदेशमा रकम घोटला गरेको बयान दिएको बताइएको छ। सचिव श्रेष्ठलाई प्रहरीले खोजीको सूचीमा राखेको बताइएको छ। उनले सुरुमा आफैँ उपस्थित हुने बताएपछि प्रहरी पक्राउ नगरेको स्रोतको भनाइ छ। खाँदबारी खानेपानीमा लाखौं रकम घोटाला भएको प्रतिवेदन छानबिन समितिले गत २०७५ माघमा सार्वजनिक गरेको थियो।

सम्बन्धित समाचार