सीमाको सम्बन्ध : नेपाली स्कुलमा पढ्न आउँछन् भारतीय बालबालिका



भद्रपुर। नेपाल–भारतको ११२ नम्बर सीमा पिलर। पूर्वपट्टि मेची नदी बग्ने सीमा पिलरको उत्तर र दक्षिण दुवैतर्फ बाक्लो बस्ती छ। एकापट्टि नेपाली बस्ती छ, भने अर्कोतर्फ भारतीय बस्ती। त्यहाँ बसोबास गर्दै आइरहेका नागरिक नेपाली र भारतीय नभई मानवीय सद्भाव, माया, स्नेह र आपसी भाइचाराको नाता सम्बन्ध गाँसेर वर्षौंदेखि मिलेर बस्दै आइरहेका छन्।

त्यहाँ बस्ने दुवै देशका नागरिक आफ्नो मातृ भाषाबाहेक नेपाली भाषा नै बोल्छन्। त्यहाँ भारतीय हिन्दी भाषा खासै बोलचाल हुँदैन। भारतीय नागरिकसहित त्यहाँका बालबालिकाहरू शिक्षा लिन नेपालकै विद्यालय जाने गरेको त्यहाँका स्थानीय बताउँछन्। हिन्दी भाषा, मेची नदी र सडक दूरीको समस्याका कारण भारतीय बालबालिका पनि नेपालकै विद्यालयमा पठनपाठन गर्दै आइरहेका छन्। झापाको सदरमुकामदेखि करिब २२ किलोमिटर दक्षिणमा रहेको कचनकवल गाउँपालिका-५ स्थित पाठामारी गाउँमा रहेको बस्तीको कथा हो यो।

साबिक पाठामारी गाविस पर्ने मेची नदीनजिकै ११२ नम्बर पिलर सीमा छुट्याइएको छ। गाउँमा मुस्लिम र राजवंशी समुदायकै बसोबास छ। बस्तीमा भारत र नेपाल गरी ६५ देखि ७० जना बालबालिका रहेको श्री प्राविका शिक्षक विजय हजामले बताए।

सम्बन्धित समाचार