खोलामा माछा मार्न गएका एक बालकको करेन्ट लागेर मृत्यु



विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-५ स्थित बूढी खोलामा आफ्नै बुबासँग माछा मार्न भनेर गएका एक बालकको शुक्रबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ। विकास मगरका छोरा ९ वर्षीय रोहन मगरको माछा मार्नका लागि आफन्तले खोलामा लगाएको करेन्टले मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले जानकारी दिए।

‘आफन्त मिलेर खोलामा करेन्ट लगाउँदै माछा मार्ने सल्लाह भएपछि विकास साथमा छोरालाई पनि लिएर खोलातिर गएको खुलेको छ,’ उनले भने, ‘करेन्टले मरेका माछा टिप्न खोलामा पसेका बालकनै करेन्ट लागेर घाइते भएछन्।’

करेन्ट लागेर गम्भीर घाइते भएपछि उपचारका लागि विराटनगर ल्याउने क्रममा दिउँसो ३ बजे बाटैमा बालकको मृत्यु भएको डीएसपी खिँउजुको भनाइ छ।

शव पोस्टमार्टमका लागि कोशी अस्पतालमा विराटनगरमा राखिएको छ। घटना अनुसन्धानका क्रममा रहेको भन्दै प्रहरीले खोलामा माछा मार्नका लागि करेन्ट लगाउने को–को थिए भन्नेबारेमा खुलाएको छैन। खिँउजुकाअनुसार माछा मार्न खोलामा करेन्ट प्रवाह गरिनु पनि अवैध काम हो।

‘करेन्ट लगाएर खोलामा माछा मार्न कानुनले प्रतिबन्ध लगाएको छ,’ उनले भने, ‘लुकीछिपी प्रतिबन्धित काम गर्दा बालकको मृत्यु नै हुनु पुग्यो।’ करेन्ट लागेर बालक घाइते भएपछि आफन्त र परिवारका सदस्यले प्रहरीलाई खवर नगरिकन उपचारका लागि भनेर विराटनगरतर्फ ल्याएका थिए। पछि थाहा पाएर घटनास्थलमा प्रहरी पुग्दा पनि आफन्तले पौडी खेल्ने क्रममा बालकको डुबेर मृत्यु भएको भनेर ढाँटेको डीएसपी खिँउजुको भनाइ छ।

उनकाअनुसार पोस्टमार्टमबाट सबै यथार्थ बाहिर आउने थाहा पाएपछि मात्रै परिवारका सदस्यले करेन्ट लागेर बालकको मृत्यु भएको जानकारी दिएका हुन्। मृतक बालकका बुवा विकाशले जिल्ला प्रहरी कार्यालय मोरङमा करेन्ट लगाएर खोलामा माछा मार्ने क्रममा छोराको मृत्यु भएको भन्दै जाहेरी दिएका छन्। तर जाहेरीमा करेन्ट लगाएर माछा मार्नेहरूको कुनै पनि पहिचान खुलाइएको छैन।

सम्बन्धित समाचार