भूमिमा भारतीय अतिक्रमण निन्दनीय कार्य भएको भन्दै सच्याउन माग



इलाम ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय कार्य भएको भन्दै उक्त कार्य सच्याउन माग गरेका छन्। माङसेबुङ गाउँपालिकामा नेकपा गाउँ कमिटीले आयोजना गरेको पार्टी प्रवेश, शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उनले भारतले अतिक्रमण गरेको भूमि फिर्ता गराउन सरकारले कूटनीतिक पहल अघि बढाएको बताए ।

‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो,’ नेम्बाङले भने, ‘यस सम्बन्धमा संघीय सरकारले कूटनीतिक पहल थालिसकेको छ भने भारतीय कदमको विरोधमा समग्र नेपाल एकजुट छ।’ एक अर्को प्रसंगमा उपनेता नेम्बाङले मुलुक विकास र समृद्धिको यात्रामा अघि बढेको भन्दै समृद्धिको यात्रामा सबै एकजुट भएर अघि बढ्नुको विकल्प नभएको बताए।

तीनै तहका सरकारले जनताका पक्षमा महत्त्वपूर्ण काम गर्दै अघि बढिरहेको भन्दै उनले त्यसका लागि नेपाली जनताले प्रत्यक्ष चुनेका प्रतिनिधिहरुले बनाएको नेपालको संविधानले सम्पूर्ण नेपालीको हक, अधिकारको ग्यारेण्टी गरेको र सरकार त्यसैको कार्यान्वयनमा लागि परेको बताए।

सम्बन्धित समाचार