ढुंगा लोड गरेर भारततर्फ लैजानेक्रममा २० वटा टिपर स्थानीयद्वारा नियन्त्रण



उदयपुर । मापदण्डविपरीत खोलाको ढुंगा उत्खनन् गरिएको भन्दै उदयपुरको बेलका नगरपालिका–४ लालबजारका स्थानीयले विरोध गरेका छन् । स्थानीयले ढुंगा लोड गरेर भारततर्फ लैजानेक्रममा २० वटा टिपर र एक जेसिवीलाई नियन्त्रणमा लिएका हुन् ।

शिसुवा र गिदेरी खेलामा अवैद्यरुपमा जेसिवी र टिपर प्रवेश गरी जथाभावी ढुंगा उत्खनन गरेको भन्दै स्थानीयले टेण्डर रद्ध गर्न माग गरेका हुन् । वडा नंम्बर ४ र ६ को सिमानामा रहेका दुई खोलाबाट तोकिएको मापदण्डभन्दा बढी उत्खनन् गरी रातारात ढुंगा ढुवानी गरेको स्थानीय दिनेश खड्काले बताए ।

बजारको उत्तरी भेगमा पर्ने महाभारत सामुदायिक वन क्षेत्रमा पर्ने खोलाबाट भू–क्षय हुने गरी दुवै वडाको वस्तिहरुलाई नै जोखिममा पारेर नगरपालिकाले ढुंगा उत्खनन गर्न दिएको स्थानीयको आरोप छ । उनीहरुले वातावरणीय प्रभाव मुल्यांकन (आईई) गर्दासमेत आफुहरुलाई थाहा नदिई मनपरी ढंगले गरेको आरोप लगाएका छन् ।

खड्काले भने, ‘आईई गर्दा चार किल्ला प्रमाणित गरी कहाँबाट कति निकाल्ने हो त्यो खुल्नु पर्ने हो, तर त्यसो नगरी ठेकेदार कम्पनीले नगरपालिकाको अनुमति भन्दै आफुखुशी ढुंगा उत्खनन गरेकाले त्यसविरुद्ध आवाज उठाएका हौँ ।’

स्थानीय प्रेम अधिकारीले नगरपालिकाले ठेक्का लगाउने प्रकृया नै गलत भएको आरोप लगाए । उनले गैर कानुनीरुपले टेण्डर लगाइएकोले यसलाई बदर गरेर अर्को टेण्डर आह्वान गर्नु पर्ने बताए । स्थानीय माया ओलीले रातारात ढुंगा ओसारेको ओसारै गरेपछि प्राकृतिक विपत्तिबाट जोगाउन खोलामा टिपर प्रवेशमा रोक लगाएको बताइन् ।

नगरपालिकाले भने गिदेरी, सिसुवा, मुर्ति, जसुदा, बगुन्दा, कासेपा, सेती, धाराखोला र खडारीखोला ३ करोड ७६ लाखमा भदौ २३ गते दिपी कन्ट्रक्सन सिरहालाई ठेक्का दिएको मेयर दुर्गाकुमार थापाले बताए । उनले स्थानीयले तीन दिनदेखि टिपरमा अवरोध पुर्याएको बताए । मेयर थापाले वार्ताद्धारा समस्या समाधान गर्न स्थानीयलाई नगरपालिकामा बोलाएको बताए ।

सम्बन्धित समाचार