जंगली हात्तीको पिर झापा र इलाममा



दमक । केही वर्ष अघिसम्म पूर्वी झापाको चुनौती बन्दै आएको जंगली हात्तीको पिर अहिले पश्चिमी झापा र दक्षिणी इलाममा सरेको छ। नेपालभारतको सीमा क्षेत्र मेचीनगरमा सोलार फेन्सिङ जडानपछि हात्तीको हैरानी केही घटेको छ। बरु विद्युतीय तारमा फसेर हात्ती मर्न थालेपछि हात्ती नै जोगाउने चिन्ता चाहिँ छ। तर दमक नगरपालिका, कमल गाउँपालिका, शिवसताक्षी नगरपालिकोको केही क्षेत्रमा भने दिनहुँ जंगली हात्ती बस्ती पस्न थालेपछि स्थानीय त्रसित भएका छन्।

अहिले दमकको उत्तरी क्षेत्रमा वर्षौदेखि कायम जंगली हात्तीको समस्या समाधान हुन नसक्दा स्थानीय आजित भएका छन्। बिभिन्न विकल्प लगाएर हात्तीको समस्याबाट छुटकारा पाउन खोजे पनि सवै विफल भएका छन्। अहिले धान पाकेर थन्क्याउने बेलामा समेत हात्तीका बथान खेत-खेत डुल्न थाल्न थाले पनि स्थानीय त्रसित बनेका छन्। एकातर्फ हात्तीका कारण ज्यानै जोगाउन कठिन भएको छ भने अर्कातर्फ किसानले पाकेको धान समेत ढुक्कले थन्क्याउन पाएका छैनन्।

तीन/चार दिन यता हात्तीको बथान गाउँ छिरेपछि स्थानीय थप त्रसित बनेका हुन्। स्थानीय हम्सेदुम्से सामुदायिक वनमा बस्ने हात्ती रात परेपछि गाउँ छिर्ने गरेको दमक ३ का राजकुमार राईले बताए। कहिले त दिउँसै पनि हात्तीको बथान देखिने गरेको छ। हात्तीले पाकेको धान खाने, माड्ने गरेका कारण किसानको वर्ष भरिको मेहनत पनि खेर गएको छ। यस्तै स्थानीयले लगाएको उखुबारी समेत हात्तीकै लागि ठिक्क छ। यसै गरी इलामको चुलाचुलीबासी पनि यही पीर भोगिरहेका छन्।

दमक ३ कै पदम तामाङ्ले पनि हात्तीको बथान नै गाउँ र खेतमा आएपछि धान थन्क्याउन पनि त्रास भएको बताए। हात्ती आएपछि यहाँका सर्वसाधारणले पुल्ठो बाल्ने, चिच्याएर चर्को आवाजमा हल्ला गर्ने र हात्तीबाट जोगिन खबरदारी गर्ने बाहेक अरु विकल्प पनि छैन। केही समय अघि बिभिन्न संस्थाहरूले दिएको साइरन समेत बिग्रिएपछि हात्ती आउँदा लुक्नु वा आँट गरेर पुल्ठो बालेर निस्कनुको विकल्प नभएको स्थानीय बताउँछन्।

सम्बन्धित समाचार