बराहक्षेत्र नगरको दमकलमा लापरवाही,आगलागी हुदा पनि सेवा दिन सकेन



बराहक्षेत्र। वराहक्षेत्रनगरपालिकाले गत आर्थिक बर्ष २०७५/०७६ मा खरिद गरेको बारुण यन्त्र (दमकल)लाई सर्वसाधारणहरुले बाँदरको पुच्छरको उपमा दिएका छन् ।नगरपालिकाले करोडौं रकममा खरीद गरेको दमकल वराहक्षेत्रमा आगलागी हुदा पनि सेवा दिन नसके पछि स्थानीयले वारुण यन्त्रलाई बाँदरको पुच्छर लौरो न त हतियार भन्नथालेका हुन् । शुक्रबार अपरान्ह वराहक्षेत्र–७ देबिघाटमा कमल ढकालको भण्डारण घरमा आगो लाग्यो ।

आगो लाग्नासाथ स्थानीयले आफ्नै नगरपालिकाको बारुण यन्त्रलाई सम्झिए । तर, नगरपालिकाको कार्यालय चक्रघट्टीबाट करिब ३ किलोमिटरको दुरीमा रहेको घटनास्थलमा उक्त वारुणयन्त्र काम नै लागेन । आगलागी भएको स्थानमा पुग्न त पुग्यो, तर आगो निभाउनै सकेन । इटहरीको वारुणयन्त्र पनि समयमा आइपुगेन ।

स्थानीयबासी रमेश कार्कीका अनुसार वराहक्षेत्रको वारुणयन्त्रको टंकीमा पानी नै थिएन । आउने बितिकै पानी सकियो भनेर पानी भर्न कोशितिर लाग्यो । यता आगोले घर जलिरहेको थियो । दमकल पानी छैन भन्दै पानी भर्न गयो । यसले जब आगो लाग्छ, अनि कुवा खन्ने उखान चरिर्ताथ भएको उनी बताउँछन् । अन्त्यमा स्थानीयबासी, सुरक्षाकर्मीको सहयोगमा इटहरीबाट आएको बारुणयन्त्रले आगो नियन्त्रणमा लिएको थियो । स्थानीयबासीका अनुसार आगो नियन्त्रण लिएपछि मात्र पानी भरेर वराहक्षेत्रको बारुणयन्त्र घटनास्थलमा पुगेको थियो ।

वराहक्षेत्रको वारुणयन्त्रको लापरवाहीको कारण समयमै आगोलाई नियन्त्रण गर्न नसक्दा भण्डारण गरेर राखेको धानसहित कोठा पुर्णरुपमा क्षति हुन पुगेको छ । यो भन्दा अगाडी वराहक्षेत्र–५ माकालाजन्र चौकमा कात्तिक ५ गते राती भिषण आगो लाग्दा पनि वराहक्षेत्रमा रहेको बारुणयन्त्र घटनास्थलमा आउन सकेन ।

सो समय वराहक्षेत्रमा रहेको वारुणयन्त्रमा सन्चालन नभए पछि आगो नियन्त्रणमा आउन नसकेको बताइएको थियो । वराहक्षेत्रको बारुणयन्त्र आउन नसकेपछि धरान, इनरुवा र इटहरीको बारुणयन्त्रले आगो नियन्त्रण गरेका थिए । यस्तै, वराहक्षेत्र–७ जंगी चौकमा हरि श्रेष्ठको घरमा कात्तिक १६ गते आगो लाग्दा पनि नजिकै रहेको बारुणयन्त्र समयमै घटनास्थलमा आउन सकेको थिएन ।

सम्बन्धित समाचार