उदयपुरका १० जना उद्योगी व्यवसायी सम्मानित



उदयपुर । आठौं राष्ट्रिय कर दिवसको अवसरमा आइतबार उदयपुरका १० जना उद्योगी व्यवसायी सम्मानित भएका छन् । गत आर्थिक वर्ष ०७५/७६ मा बढी कर तिर्ने विभिन्न क्षेत्रका उद्योगी, व्यवसायीमध्ये एक सर्वोत्कृष्ट र ९ जना उत्कृष्ट व्यवसायीलाई प्रमुख जिल्ला अधिकारी धुर्वबहादुर खड्काले सम्मान गरेका हुन् ।

कार्यालयले आयकर सबैभन्दा बढी तिर्ने हिमगिरी सप्लार्यस एण्ड ट्रेडस कटारीलाई सर्वोत्कृष्ट घोषणा गरी सम्मान गरेको हो । हिमगिरीले सबैभन्दा बढी २३ लाख ५० हजार सात सय ५७ रुपैयाँ ९४ पैंसा आयकर बुझाएको करदाता सेवा कार्यालय गाईघाटका प्रमुख सुमन बुढाथोकीले जानकारी दिए । अघिल्लो वर्ष पनि हिमगिरी जिल्लाकै सर्वोत्कृष्ट कर तिर्ने व्यवसायिकोरुपमा सम्मानित भएको थियो।

त्यसैगरी उत्कृष्ट कर तिर्नेमा आशिष÷आर्षिवाद जेवी, हिमशिखर सप्लार्यस एण्ड ट्रेडस, कालिका सप्लार्यस एण्ड ट्रेडस, आशिष÷स्वामिनारायण÷आर्षिवाद जेवी, रौता÷सन्तोषी एपेक्स जेवी, एसके ट्रेडस, वरुवा निर्माण सेवा, रौता÷सन्तोषी जेवी र सगरमाथा आयल डिपो रहेको उनले बताए।

कार्यालयले सबैभन्दा बढी आयकर तिर्ने, बाँकी बक्यौता र नियमिततालाई आधार मानेर व्यवसायी छनौट गरिएको प्रमुख बुढाथोकीले बताए । सप्ताह व्यापीरुपमा मनाउन लागिएको दिवसको पहिलो दिन आइतबार सदरमुकाम गाईघाटमा प्रभातफेरी पछि व्यवसायीलाई सम्मान गर्दै सम्पन्न भयो ।

सम्बन्धित समाचार