आपत्तिजनक अवस्थामा ९ जोडी नियन्त्रणमा



वीरगञ्ज । बाराको सिमराबाट प्रहरीले आपत्तिजनक अवस्थामा ९ जोडीलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।शनिबार दिउँसो जीतपुर सिमरा उपमहानगरपालिका-१ सिमरा बजारस्थित विभिन्न होटल तथा लजमा प्रहरीले छापा हानेको थियो । सोही क्रममा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा निजगढ, बुटवललगायत विभिन्न स्थानका सरकारी कर्मचारीसमेत रहेको प्रहरीले जानकारी दिएको छ ।सिमराको दीप, गोर्खाज, झापाली, नमस्ते, रोजी होटलबाट आपत्तिजनक अवस्थामा ९ वटा जोडीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

उनीहरु विरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा ‘अभद्र व्यवहार’ शीर्षक मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रञ्जित सिंह राठौरले जानकारी दिए । ‘होटलमा शंकास्पद अवस्थामा भेटेर नियन्त्रणमा लिएका हौं,’ उनले भने, ‘अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेका छौं, कानुनी कारबाहीको प्रक्रिया पूरा भएपछि छोड्छौं ।’रकम लिएर गरिने अवैध यौन धन्दालाई निरुत्साहित गर्न प्रहरी संगठन कठोर भएर लाग्ने उनको भनाइ छ ।

सम्बन्धित समाचार