आचार संहिता विपरीत काम नगर्न निर्वाचन आयोगको आग्रह



काठमाडौं । निर्वाचन आयोगले यही मङ्सिर १४ गते उपनिर्वाचन हुने जिल्ला र स्थानीय तहमा योजनाको छनोट, स्वीकृति र सञ्चालन कार्य नगर्न÷नगराउन निर्देश गरेको छ ।

निर्वाचन आचारसंहिता लागू भएका जिल्ला र स्थानीय तहमा चालू आर्थिक वर्ष २०७६/७७ को बजेट तथा कार्यक्रममा समावेश भएको स्थानीय पूर्वाधार विकास साझेदारीलगायतका  कार्यक्रममार्फत योजना छनोट र बजेट बाँडफाँट नगर्न भनेको हो ।

आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएकाबाहेक नयाँ नीति, योजना तथा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न, सञ्चालन गर्न र सो प्रयोजनका लागि जनशक्ति तथा स्रोत साधनको परिचालन, शिलान्यास, उद्घाटन, सर्वेक्षण गर्न, अध्ययन वा सोका लागि अनुमति दिने कार्य निर्वाचन आचार संहिताविपरीत हुन्छ ।”

कसैले आचार संहिताविपरीत कार्य गरेको पाइएमा प्रत्येक जिल्लामा उजुरीको सुनुवाइ तथा अनुगमनका लागि मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा उपनिर्वाचनमा भाग लिएका दलका जिल्लास्थित प्रतिनिधिसमेत सदस्य रहेको जिल्ला उपनिर्वाचन आचार संहिता अनुगमन समितिको संयन्त्रमार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाइएको आयोगले जानकारी दिएको छ ।

सम्बन्धित समाचार