सडक निर्माणका क्रममा महिलामाथि डोजर चलाउने चालक कारागार चलान



बैतडी । दशरथचन्द नगरपालिका-९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा महिलामाथि डोजर चलाउने चालक कारागार चलान भएका छन्। बैतडी जिल्ला अदालतले चालक किशोर बोहरालाई आइतबार पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको हो।

जिल्ला न्यायधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले चालक बोहरालाई थुनामा पठाउनका लागि आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधीवक्ता भानदेव जोशीले जानकारी दिए।

त्यस्तै चालक बोहरालाई महिलामाथि डोजर चलाउन उक्साउने डोजर मालिक भानी जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीलाई जनही ५० हजार धरौटीमा रिहा गर्ने आदेश भएको छ।

गत कार्तिक ४ गते ग्वाल्लेकको चिलाउनेमा सडक निर्माण गर्ने क्रममा स्थानीय गौरी जोशीलाई डोजरले हुत्याएको थियो। सडक निर्माण गर्ने र सडक निर्माण गर्न नदिने पक्षबीच विवाद हुँदा झडप समेत भएको थियो।

आफ्नो जमिनमा जबरजस्ती डोजर चलाएको भन्दै सडक रोक्ने पक्षले अवरोध गर्दा डोजरले महिलालाई हुत्याएको थियो। डोजरले हुत्याउने चालक किशोर बोहरालाई प्रहरीले कार्तिक ४ गते पक्राउ गरेको थियो। यस्तै डोजर चलाउन उक्साउने डोजर मालिक जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीलाई कार्तिक ६ गते पक्राउ गरेको थियो।

सम्बन्धित समाचार