कुवेतबाट काठमाडौं सिधा उडान सुरु



कुवेतबाट काठमाडौं सिधा उडान सुरु भएको छ। कुवेत अन्तराष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजका पधाधिकारी तथा नेपाली राजदुतावासका राजदूत दुर्गा प्रसाद भण्डारीले एक कार्यक्रमबीच कुवेतदेखि काठमाडौंसम्मको पहिलो उडानको शुभारम्भ गरे। जजिरा एयरको विमामानले स्थानीय समयानुसार बिहान ९:०५ बजे काठमाडौंका लागि पहिलो उडान भरेको हो।

नेपाली राजदुतावास कुवेत र पर्यटन मन्त्रालयको पहलपछि कुवेतबाट काठमाडौं सिधा उडान गर्न पाउँदा आफुलाई खुसी लागेको राजदूत भण्डारीले बताए। दुई देशबीचमा प्रत्यक्ष हवाई सम्पर्क हुँदा कुवेतमा कार्यरत सबै नेपाली कामदारहरुलाई आवत-जावतमा सहजता हुनुको साथै व्यापार प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने उनले बताए।

भिजिट नेपाल २०२० को सुरुवातमै कुवेतबाट नेपाल सिधा उडान भर्न सकिएकोले कुवेती मात्रै नभई मध्यपूर्वका पर्यटकलाईसमेत नेपाल भित्र्याउन सहज हुने उनको भनाइ थियो। ‘ट्रिप एड्भाइजरका अनुसार यस वर्ष विश्वका शीर्षमध्ये १९ औं गन्तव्यमा उडान सुरु गर्न पाउँदा हामी खुसी छौं’,  जजिरा एयरलाइन्सका सिइओ रोहित रामचन्द्रनले भने, ‘यसले दुई देशबीचको आर्थिक व्यापार सम्बन्ध पनि थप बलियो बनाउनेछ।

नेपालीका लागि कुवेत हुँदै मध्यपूर्व र युरोप जाने सस्तो विकल्प पनि उपलब्ध गराउनेछ।’ उडानका लागि वेबसाइटबाट टिकट बुकिङ गर्न सकिने एयरलाइन्सले जनाएको छ । नेपाल-कुवेत उडानका लागि इकोनोमी क्लासमा एकतर्फी भाडा कुवेती दिनार ६५ (२४ हजार ५ सय नेपाली रुपैयाँ) र दुईतर्फी भाडा १२९ दिनार (४८ हजार ७ सय नेपाली रुपैयाँ) पर्नेछ।
कुवेत-काठमाडौं उडान सोमबार, बुधबार शुक्रबार र आइतबार हुनेछ।

सम्बन्धित समाचार