नेपाली सेनाका जवानको रहस्यमय मृत्यु ,प्रहरी जवान पक्राउ



काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका-५, मुग्लिनमा भएको नेपाली सेनाका जवान राम कँडेलको मृत्यु रहस्यमय बनेको छ ।प्रहरीले हिरासतबाट भाग्ने क्रममा भिरबाट लडेर कँडेलको मृत्यु भएको दाबी गरेको छ । तर मृतकका आफन्तले कुटपिट गरेर कँडेलको हत्या गरिएको दाबी गर्दै आन्दोलन गरिरहेका छन् ।

नेपाली सेनाको बर्दबहादुर गण, सिन्धुलीमा कार्यरत् जवानको शुक्रबार बिहान मृत्यु भएको थियो ।प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसूरमा पक्राउ गरेर उनीविरुद्ध अनुसन्धान थालेको जनाएको थियो । जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले आइतबार बताइअनुसार मदिरा सेवन गरेका उनले प्रहरीलाई समेत अभद्र व्यवहार गरेका थिए । ‘प्रहरीलाई पनि कुट्न थालेपछि नियन्त्रणमा लिएर प्रहरी पोष्ट, फिस्लिङमा ल्याएका थियौं’, उनले भनेका थिए ।

कँडेल परिवारले भने प्रहरीको दाबीलाई अस्वीकार गर्दै आइतबार र सोमबार मुग्लिनमा सडक अबरुद्ध पारेको छ ।मृतकका मामा विनोद घिमिरेले प्रहरीको दाबी झुठो भएको बताए । उनले भने, ‘मेलाबाट फर्किएर आउँदा कुनै पनि नराम्रो व्यवहार गरेको थिएन । प्रहरीले झुठो बोलेको हो ।’

प्रहरीले कँडेलको हत्या गरेको दाबी गर्दै आफन्तले किटानी जाहेरी समेत दिएका छन् । जाहेरीपछि प्रहरी जवान ठाकुर ढकाललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एकदेव कोइरालाले बताए । उनले भने, ‘विस्तृत कुरा थप अनुसन्धानपछि मात्रै खुल्छ ।’

प्रदेश ३ का प्रहरी प्रमुख डीआईजी शेरबहादुर बस्नेतले पनि एक जना प्रहरी जवानलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताउँदै सम्पूर्ण तथ्य बाहिर आइनसकेकाले अहिल्यै निष्कर्ष निकाल्न नसकिने बताए ।

सम्बन्धित समाचार