दुहबीको ३३ केभिए प्रसारण लाइन विस्तारको प्रयास विफल



विराटनगर । ४५ दिनभित्र कटहरी सबस्टेसन संचालन गर्ने र विवादित क्षेत्र गिधनीयामा प्रसारण लाइन अण्डरग्राउण्ड गर्ने गरी एक महिना अगाडि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पहलमा भएको सहमति पुनः उल्टिएको छ।  सोही सहमति अनुसार ग्रामथानको गिधनिया वस्तीमा रोकिएको दुहबी–कटहरी ३३ केभिए प्रसारण लाइन विस्तार गर्न डोजरसहित सोमबार गिधनिया पुगेको टोलीलाई ग्रामथान गाँउपालिका ५ का सर्वसाधारणले अवरोध गरेका छन्।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पहलमा गत कार्तिक १ गते मुख्यमन्त्री कार्यालयमा प्राधिकरणका प्रमुख कुलमान घिसिङ, सो क्षेत्रका संघीय सांसद अमनलाल मोदी, अवरोध गर्ने स्थानीय प्रतिनिधि, विद्युत् क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख श्रीराम राज पाण्डे, ग्रामथान गाउँपालिकाका अध्यक्ष शिवनारायण माझी, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका प्रतिनिधिलगायतको बैठक बसेको थियो।

बैठकले ४५ दिनभित्र कटहरी सबस्टेसन संचालन गर्ने र विवादित ग्रामथान ५ को गिधनिया वस्तीको साढे २ किलोमिटर क्षेत्रमा प्रसारण लाइन अण्डरग्राउण्ड गर्ने सहमति गरेको थियो। सोही सहमति अनुसार प्रसारण लाइन निर्माणका लागि पुगेको टोलीलाई स्थानीयले पुनः अवरोध गरेका हुन्।  बस्तीको बीचबाट ३३ केभिएको तार लैजाँदा त्यसबाट सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पर्ने दाबी गर्दै उनीहरूले विरोध गरेका हुन्। अवरोध गर्नेहरूले स्थानीयसँग कुनै पनि छलफल नगरी एकतर्फी रुपमा हाइटेन्सनको तार लान खोजिएको आरोप लगाए।

सम्बन्धित समाचार