मोरङको जहदा गाउँपालिका १ का कार्यबहाक वडाध्यक्ष घुससहित पक्राउ



विराटनगर । मोरङको जहदा गाउँपालिका १ का कार्यबहाक वडाध्यक्ष उमेशकुमार साह घुस रकमसहित मंगलबार दिउँसो पक्राउ परेका छन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले २१ हजार रुपैयाँ घुससहित साहलाई वडा कार्यालय परिसरबाट रंगेहात पक्राउ गरेको हो ।

अख्तियार इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले सडक स्तरोन्नतीको योजना सम्झौता गर्ने क्रममा साहले घुस मागेको आरोपमा पक्राउ गरेको बताए । ‘सडक स्तरोन्नती गर्नलाई गाउँपालिकाले दुई लाख रुपैयाँ छुट्याइएको रहेछ , उनले भने, ‘त्यही योजनाको सम्झौता गरे वापत घुस लिँदै गर्दा कार्यबहाक वडाध्यक्ष साहलाई पक्राउ गरिएको हो।’

ढकालकाअनुसार योजना सम्झौता गर्न भनेर आएको पक्षसँग साहले १० प्रतिशत घुस मागेका थिए । सोमबार नै हुनुपर्ने सम्झौता एक दिनपछि मंगलबार भएका कारण साहले थप एक हजार रुपैयाँ माग गरेको पाइएको उनको भनाइ छ ।

ढकालले साहमाथि कारबाही अघि बढाउन आवश्यक अनुसन्धान थालिएको जानकारी दिए । जहदा गाउँपालिका १ का वडा अध्यक्ष प्रदीप यादव विराटनगर महानगरपालिका १४ का समानन्द यादवको हत्या अभियोगमा फरार छन् ।

सम्बन्धित समाचार