विप्लवका जिल्ला सेक्रेटरीसहित तीन जना नेकपा प्रवेश



विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी मोरङका सेक्रेटरी नवराज नेपालसहित तीन जना सत्तारूढ नेकपामा प्रवेश गरेका छन् ।विराटनगरस्थित नेकपा मोरङको पार्टी कार्यालयमा बुधबार एक कार्यक्रमकाबीच उनीहरुले ‘विप्लव’ समूह छाड्दै नेकपा प्रवेश गरेका हुन् ।

नेकपा प्रवेश गर्ने अन्यमा विराटनगर नगर सदस्य माधव पन्त र सन्दीप सापकोटा छन् । उनीहरूलाई नेकपा प्रदेश १ का सह–इन्चार्ज सावित्रीकुमार काफ्ले, केन्द्रीय सदस्य विनोद ढकाल, महेश रेग्मी, जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेती, विराटनगर नगर अध्यक्ष सागर थापालगायले फुलको गुच्छा र अविरमाला लगाएर पार्टी प्रवेश गराएका थिए ।

समाजवादको यात्रा नेकपाले मात्र पूरा गर्ने भएकोले यस पार्टीमा प्रवेश गरेको नेपालले बताए । नेपाली जनताले क्रान्ति नचाहेको उल्लेख गर्दै उनले समाज रुपान्तरणको यात्रामा अब अगाडि बढ्ने उनले बताए । कार्यक्रममा बोल्दै नेकपा प्रदेश १ का सह–इन्चार्ज सावित्रीकुमार काफ्लले नवप्रवेशीहरूलाई पार्टीले उचित स्थान र भूमिका दिएर अगाडि बढ्ने बताए । नेकपा मोरङका सचिव गणेश उप्रेतीले एकतावद्ध भएर पार्टीलाई अगाडि बढाउनु पर्नेमा जोड दिए ।

सम्बन्धित समाचार