प्रदेश १ का १४ जिल्लामा रहेका कारागारमा लागुऔषध र बलात्कार सम्बन्धी अपराधका कैदीबन्दी धेरै



विराटनगर । प्रदेश १ का १४ जिल्लामा रहेका कारागारमा अन्य अपराधको तुलनामा लागुऔषध र बलात्कार सम्बन्धी अपराधका कैदीबन्दी धेरै रहेको पाइएको छ । विभिन्न अपराधिक घटना भन्दा बलात्कार (जवरजस्ती करणी), बलात्कार प्रयास ( जवरजस्ती करणी उद्योग) र लागुऔषध कारोवार एवं ओसारपसार सम्बन्धीका अपराधका कैदीबन्दी ५३ प्रतिशत छन् । अन्य अपराधका ४७ प्रतिशत मात्रै कैदीबन्दी छन् ।

प्रदेश भरीका १४ वटा कारागारमा जम्मा ५ हजार १ सय ४८ कैदीबन्दी छन् । यी मध्ये बलात्कार सम्बन्धी र लागुऔषधका मात्रै २ हजार ७ सय ७४ कैदीबन्दी छन् । बलात्कार र बलात्कार प्रयास सम्बन्धीका मात्रै १ हजार ९ सय ३६ जना कैदीबन्दी छन् । लागुऔषधका ८ सय ३८ जना छन् । अन्य अपराधसँग जोडिएका २ हजार ३ सय ७४ जना कैदीबन्दी छन् ।

सुनसरीमा रहेको क्षेत्रीय स्तरको झुम्का कारागारमा १ हजार ७ सय ३७ कैदीबन्दी छन् । लागुऔषध र बलात्कार सम्बन्धीका मात्रै ९ सय ८७ जना छन् । झापा कारागारमा रहेका १ हजार १ सय ३३ मध्ये लागुऔषध र बलात्कार सम्बन्धीका ६ सय १० कैदीबन्दी छन् । इलाममा १ सय ७१ मध्ये ९४, पाँचथरमा १ सय ५५ मध्ये ५६, ताप्लेजुङमा १ सय ३१ मध्ये ४७ जना कैदीबन्दी लागुऔषध र बलात्कार सम्बन्धीका छन् ।

मोरङ कारागारमा रहेका ९ सय ७ मध्ये ६ सय ७४ जना लागुऔषध र बलात्कार सम्बन्धी अपराधका कैदीबन्दी छन् । धनकुटामा रहेका ६४ मध्ये ३२, उदयपुरमा २ सय २ मध्ये ९८, खोटाङमा १ सय १३ मध्ये ३३, ओखलढुंगा कारागारमा रहेका ६८ मध्ये २१ जना लागुऔषध र बलात्कार सम्बन्धीका कैदीबन्दी छन् । भोजपुरमा १ सय १३ मध्ये ३६, संखुवासभामा १ सय १० मध्ये ११, तेह्रथुममा ८८ मध्ये ४९ र सोलुखुम्बु कारागारमा ७५ मध्ये २६ जना कैदीबन्दी बलात्कार सम्बन्धीका छन् ।

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले कारागारका कैदीबन्दीको संख्याले पछिल्लो समय बलात्कार र लागुऔषध सम्बन्धी अपराध धेरै भइरहेको पुष्टि हुने बताए ।

सम्बन्धित समाचार