रङ्गशालामा अचानक आगलागी



सप्तरी । सप्तरीको राजविराज–६ स्थित रङ्गशालामा अचानक आगलागी भएको छ । एक–एक गरेर लहरै भएका घरहरु जल्न थाले । अत्तालिएका मानिसहरु भागाभाग गर्न थाले । आगो निभाउने क्रममा चारजना स्थानीयवासी घाइते भए । त्यसैमध्ये एक जनाले वारुणयन्त्र र सुरक्षाकर्मीलाई फोन गरेर जानकारी गरायो ।

आगो निभाउन राजविराज नगरपालिकाको वारुणयन्त्र र घाइतेहरुको उद्घारका लागि तत्कालै राजविराजस्थित भीम दल गण विपद् युनिटका सेनाहरु आइपुगे । घटनास्थल पुगेका सेनाको चिकित्सक टोलीले प्रारम्भिक उपचार गर्दै घाइतेहरुलाई धमाधम एम्बुलेन्समा राख्न थाल्यो । थप उपचारका लागि एम्बुलेन्स राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल हिँड्यो ।

यो वास्तविक घटना नभई विपद्को समयको साङ्केतिक अभ्यास थियो । रङ्गशाला मैदानमा विभिन्न समूहले विपद्को पूर्वतयारी र विपद्का समयमा गरिनुपर्ने उद्धार र राहतको साङ्केतिक अभ्यास गरिएको हो । राजविराज नगरपालिकाको समन्वयमा नेपाली सेनाले विगत चार दिनदेखि सञ्चालन गरेको सामुदायिक विपद् प्रतिकार्य तालीमको अन्तिम दिन बुधबार खेलमैदानमा तालीमप्राप्त उद्घारकर्ताले विपद्मा गरिने उद्घार कला प्रदर्शन गरेका हुन् ।

प्राकृतिक विपद्को सामना पूर्व गर्नुपर्ने तयारी तथा विपद्का कारण हुने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले नेपाली सेनाको भीम दल गणले साङ्केतिक अभ्यास गरेको गणपति गुप्तबहादुर कुँवरले बताउनुभयो । कुँवरका अनुसार आगलागीका बेला राहत, उद्घार कार्य कसरी गर्ने भन्ने ज्ञान बढाउन उद्घार कला प्रदर्शन गरिएको हो ।

विपद् व्यवस्थापनसम्बन्धी यस्तो अभ्यास नेपाली सेनाले सन् २०११ बाट गर्दै आएको हो । अभ्यासमा आगो नियन्त्रण, घाइतेको उद्धार, उपचार र स्याहार, पीडितलाई खानपिनको व्यवस्था गर्न सिकाइएको थियो । उद्धार गरिएका व्यक्तिका लागि शौचालय, महिलाका लागि कपडा फेर्ने स्थल, स्तनपान गराउने अलग्गै ठाउँको पनि व्यवस्था हुनुपर्ने बताइएको छ ।

सम्बन्धित समाचार