रोजगारीमा राम्रो कमाई हुने प्रलोभन दिएर दुवई पठाइदिने भन्दै युवाहरुसँग पैसा उठाएर भाग्ने एक व्यक्ति पक्राउ



विराटनगर । वैदेशिक रोजगारीमा राम्रो कमाई हुने प्रलोभन दिएर दुवई पठाइदिने भन्दै गाउँका युवाहरुसँग पैसा उठाएर भागेका एक व्यक्तिलाई बुधबारराति विराटनगरबाट पक्राउ गरिएको । सुनसरीको हरिनगरा गाउँपालिका–४ का ३५ वर्षीय गिरेन्द्र साह विराटनगर महानगरपालिका–१४ जतुवाबाट पक्राउ परेका हुन् । विदेश पठाइदिने भन्दै सात जना युवासँग प्रतिव्यक्ति एक लाख ७० हजार रुपैयाँ उठाउँदै साह फरार बनेका थिए । ११ लाख ९० हजार रुपैयाँ ठगी गरेर भागेको भन्दै उनी विरुद्ध पीडितहरुले श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिएका थिए ।

श्रमले गत असार ३१ गते पक्राउ पूर्जी जारी गरेपछि साहलाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको थियो । उनलाई प्रहरीले बिहीबार श्रमको जिम्मा लगाएको छ । साहबाट ठगीमा पर्नेमा सुनसरीकै हरिनगरा–४ का गन्नु मण्डल सरवरिया, अनिलकुमार मण्डल, इन्द्रदेवकुमार मण्डल, महेशकुमार मेहता, महेशप्रसाद मेहता, रौदी महतो र सञ्जय मण्डल छन् । उनीहरु १९ देखि ३५ वर्ष उमेर समूहका छन् ।श्रम कार्यालयका प्रमुख एवं बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले पैसा फिर्ताका लागि पहल गरिदिन र ठगी गर्नेमाथि कारबाही गरिन माग गर्दै पीडित युवाले पहिल्यै उजुरी दिएको बताए ।

पीडित युवा सञ्जय मण्डलले दुवई लैजाने भन्दै आफूहरुलाई काठमाडौं पु¥याएर साह गायव भएको बताए । उनकाअनुसार काम गर्नका लागि दुवईको बलतिया कम्पनीमा पु¥याउने र नेपालको ५४ हजार रुपैयाँ मासिक तलब हुन्छ भनेर साहले सबैसँग २०७५ चैतबाट पैसा उठाएका हुन् । अहिले पनि सबैको राहदानी साहकै कब्जामा रहेको मण्डलले बताए ।

श्रम अधिकृत सञ्जेलले दुवई पठाइदिन्छु भन्दै ठगी गरेका युवाको नाममा नेपालमा कुनै पनि मेनपावर दर्ता नभएको बताए । मेनपावर नभइकन कोही कसैलाई विदेश पठाउन नपाइने भएकाले ठगी गर्नेमाथि वैदेशिक रोजगार ऐन अन्तर्गत कारबाही अघि बढाइने सञ्जेलको भनाइ छ ।

सम्बन्धित समाचार