मोटरसाइकलमा राखेर भारत लग्दै गरेको अवस्थामा १६ बोरा मरिच बरामद



विराटनगर । मोरङको जहदा गाउँपालिका–१ तारिगामाबाट प्रहरीले बिहीबार भारतीय मोटरसाइकलमा राखेर भारत लग्दै गरेको अवस्थामा १६ बोरा मरिच बरामद गरेको छ ।  बिहान १० बजे अढाई लाख मूल्य बराबरको चार सय २५ किलोग्राम मरिच बरामद भएको हो । उक्त मरिच डीएल ३ एसएभी २१५०, बीआर ५० बी २६०४, बीआर ३८ के ५१३२ नम्बरको मोटरसाइकलमा राखेर भारततर्फ तस्करी गर्ने काम भइरहेको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले भारतीय नम्बर प्लेटका मोटरसाइकलमा लोड गरेर लैजाँदै गरेको अवस्थामा मरिच बरामद भएको बताए । मरिच तस्करीमा संलग्न भने प्रहरीलाई देखेपछि भागेको दाबी प्रहरीको छ । बरामद भएको मरिच र नियन्त्रणमा लिइएका मोटरसाइकल आवश्यक कारबाहीका लागि बिहीबार नै विराटनगर भन्सार कार्यालयमा बुझाइएको जानकारी एसपी अधिकारीले दिए । तेस्रो मुलुकबाट ल्याएर मरिच तस्करी हुने क्रम बढेर नियन्त्रण गर्न चुनौती पूर्ण हुन थालेपछि सीमावर्ती सबै नाकामा विशेष टोली खटाएर निगरानी बढाइएको उनको भनाइ छ ।

नेपालमा भन्दा भारतमा मूल्य दोब्बर रहेका कारण तेस्रो मुलुकबाट आयात हुने कालो मरिच भारत तस्करी भइरहेको जनाएको छ । नेपालमा प्रति किलो मरिच चार सय ६० देखि पाँच सय रुपैयाँसम्म पर्छ । भारतमा प्रति किलो एक हजार रुपैयाँसम्म छ । तस्करहरुले भारत गएका नेपाली सवारी साधनमाथि त्यहाँका सुरक्षाकर्मीले कडाई गर्ने भएकाले भारतीय नम्बर प्लेटकै मोटरसाइकलमा मरिच तस्करी गर्ने गरेको पाइएको छ ।

सम्बन्धित समाचार