सरकारी नम्बर प्लेटको गाडीलाई रातो नम्बर प्लेटको बनाएर चलाउने गरेको पाइयो



मोरङ ।  विराटनगरको व्यस्त बजार गोल्छा चोकबाट एउटा मोटरसाइकल अघि जाँदै थियो । त्यो मोटरसाइकलमा चालकसहित चार जना यात्रु थिए । अघि गुड्दै गरेको मोटरसाइकलको नम्बर प्लेट हेर्दा थाहा भयो, को १ ब १५७७ नम्बरको सरकारी मोटरसाइकल रहेछ । सरकारी सवारी साधन, त्यो पनि कार्यालय समय बाहिर यसरी चार जना बोकेर हिँड्नु कति जायज होला भन्ने लाग्यो र फोटो खिचियो ।

मैले ती मोटरसाइकल चालकसँग सम्पर्क गर्ने प्रयास गरेँ तर उनी केही पनि नबोली सेन्ट्रल मलको पार्किङ स्थलमा मोटरसाइकल पार्किङ गर्नतर्फ लागे ।मोटरसाइकलमा बस्ने अन्य व्यक्ति स–साना भए पनि चलाउने चालक को हुन् र कुन कार्यालयमा काम गर्छन् भनेर जान्ने इच्छा थियो तर उनको मुख ढाकिएकाले चिन्ने मौका भने मिलेन । उनीसँगै भित्र प्रवेश गर्न खोज्दा भित्रबाट अर्को सवारी बाहिरिँदै गरेकोले उनीसँगै भित्र प्रवेश गर्न पाइएन । सेन्ट्रल मलको अगाडिको भागमा सडक कालोपत्रे भएकोले पश्चिमको ढाेकामात्र खोलिएको थियो ।

पछिल्लो समय यसैगरी सरकारी सवारी साधनहरु दुरुपयोग हुँदै आएका छन् । कतिपय अवस्थामा सरकारी सवारी साधनले तस्करीको काम गरिरहेको समेत फेला परेको छ । केही दिनअघि मात्र विराटनगर भन्सार कार्यालयले सरकारी गाडीले भारतबाट सामान ओसारपसार गरेको तथा तस्करी गरेको पाइएपछि नियन्त्रणमा लिएको थियो । कतिपय वडाध्यक्षहरुले सरकारी नम्बर प्लेटको गाडीलाई रातो नम्बर प्लेटको बनाएर समेत चलाउने गरेको पाइएको छ ।

सम्बन्धित समाचार