संखुवासभामा उपनिर्वाचनको तयारी पुरा, अब मतदान मात्र बाँकी




खाँदबारीे । दुई स्थानको निर्वाचन हुने सङ्खुवासभामा निर्वाचनको तयारी पुरा भएको छ । मकालु गाउँपालिकाको अध्यक्ष र खाँदबारी नगरपालिकाको वडा नम्बर ३ को अध्यक्षको निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको हो ।

निर्वाचनको लागि आवश्यक पर्ने सम्पुर्ण सामग्रीहरु र कर्मचारीहरु मतदान केन्द्रमा पठाईसकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख चोलाराज दंगालले जानकारी दिनुभयो । विभिन्न चरण गरेर निर्वाचन सामग्रीहरु मतदान केन्द्रमा पुराईसकिएको प्रमुख दङ्गालले जानकारी दिनुभयो । भौगोलिक रुपमा टाढा रहेको मतदान केन्द्रहरुमा बुधबार नै सामग्रीहरु पठाईसकिएको थियो भने नजिकका केन्द्रमा विहिबार पठाईएको हो । मकालु गाउँपालिकाको केन्द्र नुमबजार जिल्लाको सदरमुकामदेखि ४२ किलोमिटर टाढा पर्छ भने खाँदबारी नगरपालिका सदरमुकाम हो । सवै भन्दा टाढाको मतदान केन्द्र मकालु गाउँपालिकाको वडा नं. ४ को पाँच पोखरी आधारभुत विद्यालय निभारेमा हिजो नै मत पेटिका, मत पत्र लगायतका सम्पुर्ण सामग्रीहरु पुगिसकेको दंगालले जानकारी दिनुभयो ।

उहाँका अनुसार, मतदान केन्द्रमा सर्वदलिय बैठक, चार किल्लाको रेखाङ्कन, स्वयंसेवकहरु नियुक्ति लगायतका सम्पुर्ण कार्यहरु पुरा भईसकेको छ । त्यस्तै, स्वयंसेवक, कर्मचारी र सुरक्षाकर्मीहरुलाई सम्बन्धीत मतदान अधिकृतले अभिमुखिकरण समेत गराईसकेका छन् । शुक्रबारसम्ममा सम्बन्धीत केन्द्रका मतदाता परिचय पत्रहरु वितरण गरिसकिने दंगालले जानकारी दिनुभयो । ‘मतदानको सम्पुर्ण तयारी पुरा भईसकेको छ, अव मतदान गराउन मात्र बाँकी छ’, दंगालले भन्नुभयो ।

मकालु गाउँपालिकामा १३ मतदान केन्द्र रहेको छ भने खाँदबारी ३ मा २ वटा मतदान केन्द्रहरु रहेका छन् । मकालु गाउँपालिकामा ९ हजार एक सय मतदाताहरु छन् । त्यस्तै, खाँदबारी ३ मा एक हजार ८ सय ३० जना मतदाता रहेका छन् ।

मकालु गाउँपालिका अति संवेदनसिल

अध्यक्षको उपनिर्वाचन हुन लागेको मकालु गाउँपालिकाका सवै मतदान केन्द्रहरु अति संवेदनसिल सुचिमा रहेका छन् । भौगोलिक रुपमा विकट भएको कारण मकालुका सवै केन्द्रहरु अतिसंवेदनसिल सुचिमा राखिएको प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलालले जानकारी दिनुभयो । मतदान केन्द्र र मतदाताहरुको सुरक्षाको लागि भित्री भागमा जनपथ प्रहरी त्यसपछि शसस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछन् ।

यस पटक निर्वाचन लक्षित गरेर तीन सय जना सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दुलालले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार