सङ्खुवासभामा मतदान सकियो, ६५ प्रतिशत मत खस्यो



खाँदबारी । दुई स्थानको उपनिर्वाचन भएको सङ्खुवासभामा ६७ प्रतिशत मतदान भएको छ । मकालु गाउँपालिका र खाँदबारी नगरपालिका ३ नम्बर वडामा उक्त परिणाममा मतदान भएको हो ।

मकालु गाउँपालिकामा ९ हजार १ मतदाता रहेकोमा पाँच हजार ७ सय ७४ मत खसेको छ । यो ६४ दशमलब १५ प्रतिशत हो । त्यस्तै खाँदबारी नगरपालिका वडा नम्बर ३ मा एक हजार ८ सय २२ मतदाता रहेकोमा एक हजार दुई सय ७१ मत खसेको छ । यो ६९ दशमलब ७६ प्रतिशत हो । दुवै निर्वाचन क्षेत्रमा दश हजार ८ सय २३ मतदाता रहेकोमा ७ हजार दुई सय ४५ मत खसेको हो । यो ६५ दशमलब ०९ प्रतिशत हुन आउँछ ।

१० वटा मतदान स्थल र १३ मतदान केन्द्र रहेको सङ्खुवासभामा शान्तिपुर्ण वातावरणमा मतदान कार्य सम्पन्न भएको छ । मकालु गाउँपालिका सुरक्षाको हिसावले अति संवेदनसिल रहेपनि कुनै घटना नभएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिनुभयो । मतदान केन्द्रबाट मतपेटिका केन्द्रसम्म ल्याउनको लागि पनि सुरक्षा ब्यवस्था कडा पारिएको उहाँले बताउनुभयो ।

मकालु गाउँपालिकाको मतदान केन्द्रबाट मतदान सकिएलगत्तै गाउँपालिकाको केन्द्र नुम ल्याउने काम भईरहेको छ । गाउँपालिकाको केन्द्र नुमबाट अधिकांस केन्द्रहरु टाढा रहेकोले मतपेटिका ल्याउन समय लाग्ने निर्वाचन कार्यालयले जनाएको छ । सम्पुर्ण मतपेटिकाहरु नुम ल्याईसकेपछि आईतबार विहानबाट मात्र मत गणना गर्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख चोलाराज दंगालले जानकारी दिनुभयो । खाँदबारी नगरपालिका वडा नम्बर ३ को भने सनिबार रातीबाट गणना सुरु गर्ने दंगालले जानकारी दिनुभयो ।

मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल र खाँदबारी ३ का वडा अध्यक्ष तोयानाथ ढुंगानाको निधन भएपछि उक्त पदहरुमा उपनिर्वाचन भएको हो ।

सम्बन्धित समाचार