आफूले जितेको स्वर्ण उनले बुवालाई पहिर्‍याइदिइन्




काठ्माण्डौ । करातेकी स्वर्ण विजेता सुनिता महर्जन बुवा नाती महर्जनसँग।करातेकी स्वर्ण विजेता सुनिता महर्जन बुवा नाती महर्जनसँग। करातेकी सुनिता महर्जनले मंगलबार स्वर्ण जितेपछि आफ्ना बुवालाई अगाँलो हालेर रोइन्। बुवा नाती महर्जनको पनि आँखा रसाए।

सुनितालाई बुवाले खेल हेर्न आउन भ्याउँदिन भनेका थिए। तर जब उनी स्वर्ण जितेर तल झरिन्, दुई दाइसँगै बुवालाई पनि देखिन्। यसरी नै बुवाले सुनिताको हरेक सफलतामा साथ दिँदै आए। मंगलबार पनि बुवा बिमारी आमालाई श्रीमतीको रेखदेखमा छोडेर छोरीको खेल हेर्न सातदोबाटोस्थित कराते कबर्ड हल आए।

सुनिताका बुवा मालीको काम गर्छन्। उनले पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला देखि अन्य कोइराला परिवारको बगैंचा हेरचाह गर्दै आए। ‘मैले ६ वर्ष गिरिजाको निवासमा बगैंचा रेखदेखको काम गरेँ। पछि शशांक, सुजताको घरमा पनि काम गरेँ,’ नाति महर्जनले सेतोपाटीसँग भने।

काम गर्ने दौरान नातीको कहिलेकाहीँ गिरिजाप्रसादसँग भेट हुन्थ्यो। भेटमा गिरिजाप्रसादले उनलाई छोराछोरीको बारेमा सोध्थे। ‘उहाँले मलाई छोराछोरीलाई मिठाई किन्दिनु भनेर पैसा दिनुहुन्थ्यो। म त्यो पैसा छोरीलाई दिएर डाइट खान भन्थे,’ उनले स्मरण गरे।

सुनितालाई पनि बुवाले आफूलाई गिरिजाप्रसादको निवास लगेको याद छ। अहिले भने उनका बुवाले मालीको कामलाई विश्राम दिएका छन्। बेलाबेला जान्छन् नभए बिमारी आमाकै ‍रेखदेखमा खट्छन्।

आम्दानीको श्रोत सानो भएपनि सुनितालाई बुवाले खाने कुरामा कहिल्यै कमी हुन दिएनन्। माली कामबाट जति कमाउँथे त्यसबाट अलिकति लुकाएर डाइटका लागि छोरीलाई दिन्थे। सुनितालाई सुरुवातदेखि नै बुवाले साथ सहयोग गर्दै आए। सुनिताले ११ वर्षको उमेरबाट कराते खेल्न सुरू गरेकी हुन्। उनका दाइ विनोद महर्जन पनि करातेमै थिए। दाइहरु खेलेको ठाउँमा उनी पनि हेर्न जान्थिन्। त्यही देखेर आफूलाई कराते खेल्न मन लागेको उनले बताइन्।

उनका दाइले ६ वर्ष खेलेर छाडे लगत्तै उनले खेल्न सुरु गरिन्। उनले आफ्नो मिहिनेतको फल मंगलबार करातेमा स्वर्ण जितेर पाइन्। कराते फाइटको ६८ केजी तौल समूहमा पाकिस्तानकी खेलाडीमाथि ८(२ अंकको सहज जित निकाल्दै उनले स्वर्ण जितिन्।

स्वर्ण जितेपछि उनी म्याटमा भक्कानिन्। नेपालको झण्डा बोकेर मैदानमा फन्को मार्दैगर्दा उनका आँखाबाट खुसीका आँशु बगिरहेको थियो। त्यसपछि उनी आफ्ना बुवालाई अगाँलो हालेर रोइन्। नजिकै रहेका उनका दुई दाइहरु पनि भावुक भए। केहीबेर उनले आफ्ना परिवारसँग खुसी साटिन्।

मेडल वितरण समारोहपछि उनलाई बुवासँग फोटो खिच्न आग्रह गर्दा उनले आफूले लगाइराखेको स्वर्ण फुकालेर बुवाको गलामा पहिर्‍याइदिइन्। छोरीले गलामा स्वर्ण भिराइदिपछि बुवा नातिको मुहार खुशीले झन् चम्कियो।

आफूलाई परिवारले दिएको हौसला र सहयोग भुल्न नसक्ने भन्दै उनले भनिन, ‘यही कारणले मैले यो स्वर्ण मेरो लागि भन्दा पनि परिवारको लागि सोचेको थिए।’ सागमा स्वर्ण जित्ने सपना पूरा भएको बताउँदै उनले अबको आफ्नो लक्ष्य ओलम्पिक खेल्नु रहेको सुनाइन्।

सेतोपाटी डट कमको सहयोगमा

सम्बन्धित समाचार