छाउगोठमा मृत भेटिएकी पार्वतीका जेठाजु प्रहरी नियन्त्रणमा



अछाम । साँफेबगर नगरपालिका ३ सिद्धेश्वरको डिक्रेनीगाउँमा आइतबार राती छाउगोठमा ज्यान गुमाएकी पार्वती बुढा रावतको जेठाजुलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ। छाउपडी प्रथालाई अब कानुनीरूपमै अपराध मानेपछि प्रहरीले पहिलो पटक कानुनी प्रक्रियाका लागि मृतक पार्वतीका जेठाजुलाई पक्राउ गरेको हो।

अनुसन्धानका लागि पार्वतीका जेठाजुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी जनक शाहीले जानकारी दिए।उनले भने, ुमृतकका जेठाजुले छाउगोठमा बस्न बाध्य पारेर नपारेको विषयमा अनुसन्धान गरिरहेका छौं । यदी बस्न बाध्य पारेको भए त्यहिअनुसार कारबाही हुनेछ ।

उनका जेठाजुलाई सोधपुछका लागि मंगलसेन बोलाएर नियन्त्रणमा लिएको हो। श्रीमान्,सासू र ससुरा कामको लागि भारत गएकाले पार्वती जेठाजु जेठानीसँग बस्दै आएकी थिइन्। प्रहरीका अनुसार छाउगोठमा बस्न बाध्य पार्ने अरु कोही पनि प्रक्राउ पर्नेछन्। यसअघि प्रहरीले छाउगोठमा मृत्यु भएकाको परिवारका सदस्यलाई पक्राउ गरेको थिएन ।

कानुनमा कोही कसैले महिलालाई महिनावारी भएकै कारण छाउगोठ पठाए वा अन्य विभेद गरे ३ महिनासम्म कैद वा ३ हजारसम्म जरिवाना हुने व्यवस्था छ। तर हालसम्म अछामका १० वटा स्थानीय तहमा रहेका न्यायिक समिति र प्रहरीमा यसअघि कुनै उजुरी आएका छैनन्।

एक दशक यता परम्परागत छाउपडी कुप्रथाका कारण अछाममा वर्षेनी कैयौं महिला तथा किशोरीले छाउगोठमै अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ । आइतबार ज्यान गुमाएकी पार्वती गरी पछिल्लो दश वर्षको तथ्यांकअनुसार अछाममा अहिलेसम्म महिनावारी भएको बेला छाउगोठमै ज्यान गुमाउने महिलाको संख्या १४ पुगेको छ ।

निसास्सिएर, सर्पले टोकेर र आगोले पोलेर छाउगोठमा ज्यान गुमाउनेको संख्या बढी छ।

सम्बन्धित समाचार