प्याज खेती गरेर महिना दिनमै करोडपति बने यी कृषक



काठमाडौं । समय समयमा तरकारीको मूल्यले उपभोक्ताको मासिक आम्दानी र खर्चलाई असन्तुलित बनाउँदै आएको छ । पछिल्लोपटक प्याजको मूल्य आकाशिदा उपभोक्ताले प्याज आयातको विकल्प र उत्पादनमा आत्मनिर्भर हुनुपर्ने तर्क अघि सारे । तर उपभोक्ताको ढाड सेकिरहँदा एकजना किसानका लागि भने प्याजको आकाशिएको मूल्यले ‘करोडपति’ बनाएको छ ।

भारत बेंगलौर नजिकैका एकजना प्याज खेती गर्ने किसानलाई बढ्दो मूल्यले ‘ज्याकपट’ लागेको छ । बेंग्लौर भन्दा करीब दुई सय किलोमिटर टाढा चित्रदुर्गा जिल्लाका ४२ वर्षिय किसान मल्लिकार्जून महिना दिनमा करोडपति बन्नुभयो । उहाँले पाँच लाख ऋण लिएर प्याजको बिऊ छर्नुभयो । मल्लिकार्जून भन्नुहुन्छ, “मैले जिवनकै सबैभन्दा ठूलो जोखिम लिएँ, मूल्यमा गिरावट आएको भए वा बालीमा मौसमी प्रकोपले असर गरेको भए मलाई कारोबारमा टिक्न गाह्रो हुन्थ्यो । तर प्याजले मेरो परिवारको भाग्य बदलेको छ ।”

भारतको चर्चित पत्रिका टाइम्स अफ इन्डियाका अनुसार मल्लिकार्जूनले जारी सिजनमा २४० टन प्याज उत्पादन गर्नुभएको छ । करीब पाँचदेखि दश लाख नाफा हुने अनुमान लगाएर खेती गरेको उहाँ सुनाउनुहुन्छ । तर प्याजको मूल्य एकसय पचास रुपियाँसम्म पुग्दा उहाँ महिना दिनमै करोडपति हुनुभएको छ । चलनचल्तीको मूल्य बमोजिम उहाँले एक सिजनमै करीब तीन करोड ५० लाख रुपियाँ आम्दानी गर्नुभएको छ । उहाँले गत् वर्ष त्यत्तिकै क्षेत्रफलमा प्याज लगाउँदा करीब पाँच लाख आम्दानी गर्नुभएको थियो ।

“मैले बिगत्सँगै यसपटक लिएको ऋण चुक्ता गरेको छु”, भन्दै मल्लिकार्जून थप्नुहुन्छ, “एउटा राम्रो घर बनाउने सोचमा छु, त्यसपछि खेती बिस्तार गर्ने लक्ष्य राखेको छु ।” पाँच विग्घा क्षेत्रफलमा खेती गर्नुभएको मल्लिकार्जून थप पाँच विग्घा जग्गा लिजमा लिने योजना बनाउनुभएको छ । पाँच विग्घा क्षेत्रफलमा करीब ५० जना मजदूर नियमित खेतीपातीमा लागेका छन् । असोजसम्म प्याजको मूल्य मल्लिकार्जूनको लागि चुनौतीपूर्ण थियो । कात्तिक दोस्रो साता प्याजको मूल्य ७० रुपियाँ पुग्यो । केही दिनभित्र मूल्य वृद्धि भएर भारतीय मुद्रा एक सय बीस रुपियाँसम्म पुग्यो । अनि प्याज चोरबाट सुरक्षा गर्न परिवारका सबै सदस्यले नै खेतमा दिनरात बिताउन थाले ।

सम्बन्धित समाचार