किराती परिकार ‘वाचिपा’ तिख्खर स्वादको सीतन




खाँदबारी । तपाईं कुनै किरात बस्तीमा पाहुना लाग्दै हुनुहुन्छ भने, तपाईंलाई हार्दिकतासाथ टक्रयाइने एउटा परिकार हो, वाचिपा ।

संभवत तपाईंको लागि यो एकदमै नयाँ र नौलो स्वाद हुनेछ । किनभने ‘वाचिपा’ले अहिले त्यती व्यापकता पाइसकेको अवस्था छैन । यद्यपी गाउँघरतिर कुखुरा काटियो भने वाचिपा अनिवार्य बन्छ । किनभने वाचिपाको सीतन बिना कुखुराको मासु कहाँ स्वादिलो हुन्छ र ?

वाचिपा खासमा सीतन हो । सीतन, जसलाई तपाईं हामी ‘स्न्याक्स’ भनेर बुझ्छौ । मदिरा वा कुनै पेयसँग जिब्रोको स्वाद लिने । नुन, भुटुन, मर मसला, पिरो, अमिलो, तीतो, टर्रो सबै स्वाद मिश्रति वाचिपा वास्तवमै तिख्खर र नौलो लाग्नसक्छ ।

यहाँसम्म आइपुग्दा तपाईंलाई कौतुहलता जागिसक्यो होला, के हो वाचिपा, कस्तो हुन्छ यसको स्वाद, कसरी बनाइन्छ ?

के हो वाचिपा

वाचिपा किरात समुदाय अर्थात राई, लिम्बु आदि समुदायमा प्रचलित स्वादिलो सीतन हो । खासगरी राई समुदायको संस्कृतिसँग वाचिपाको साइनो जोडिएको छ । किनभने उनीहरुले आफ्नो कुल पूजामा वाचिपालाई प्रसादको रुपमा ग्रहण गरिन्छ । किरात राई समुदायले उँधौली पर्वमा खाने गरिन्छ ।

चहकिलो एवं तिख्खर स्वादको यो परिकार बनाउने विधी र बन्ने स्रोत पनि निकै भिन्न छ ।

एक हिसाबले हेर्दा यो दक्षिण भारतिय परिकार बिरयानी वा नेपाली खान्की खिचडीसँग मिल्दो लाग्छ । तर, वाचिपा मुख्य थाली (मेन कोर्स० होइन, जसलाई भरपेट खान सकियोस् । अर्थात पेट भर्नका लागि खान सकियोस् । यो केवल जिब्रोको स्वाद लिने सीतन मात्र हो ।

कसरी बन्छ ?

वाचिपा बनाउनका लागि सबैभन्दा पहिला त लोकल कुखुरा चाहिन्छ । लोकल कुखुराको मुटु(कलेजो, खुट्टा, टाउको, पखेटा आदि मिश्रण गरेर वाचिपा बनाइन्छ । त्यसमा चामल पनि मिसाइन्छ । यसका साथै गोलभेडा, प्याज, लसुन, अदुवा आदि चाहिन्छ । नुन र खोर्सानी त अनिवार्य भैहाल्यो । यसलाई थप स्वादिलो बनाउन मासु मिसाउन सकिन्छ । र, वाचिपाका लागि नभई नहुने मुख्य कुरा चाहि कुखुराको भुत्ला हो ।

आगोमा कुखुराको भुत्ला एकसरो पोलेर त्यसलाई हटाइन्छ । यति गरेपछि भुत्लामा रहेको फोहोर हट्छ । अब पुनः बाँकी रहेको भुत्ला डढाएर कालो भएपछि त्यसलाई नाङ्लोमा राखेर थप सफा गरिन्छ । बाँकी रहेका भुत्ला हटाइन्छ र डढेको कालो भुत्लालाई रगतमा मिसाइन्छ गरिन्छ । अतः यसलाई पुन केही कचौरा भातमा राम्ररी मिश्रण गरिन्छ ।

कुखुराको टाउको, खुट्टा, पखेटा र केही मासुलाई स-सना टुक्रा गरिन्छ । अर्थात हड्डी, मासु सबै मिश्रति मासुको टुक्रामा चामल वा भात मिसाइन्छ ।

अब एउटा कराहीमा तेल ततो बनाएर त्यसमा प्याज, लसुन, अदुवाको टुक्रा, खुर्सानी भुट्नुपर्छ । त्यसमाथि तयारी अवस्थामा राखेका वाचिपा भुट्नुपर्छ । राम्ररी भुटिएपछि यो खानाका लागि तयार हुन्छ ।

सम्बन्धित समाचार