संस्कृतिक एकरुपताको लागि बालामा पुर्खा सम्मेलन हुँदै




बाला । कुलुङ जातीको कुनै पनि संस्कार जन्य कृयाकलापहरु लिखित नभएपछि नेपाल किरात कुलुङ भाषा तथा संस्कृति उत्थान संघ, सिलिचोङ २ वडा कार्य समितिले पुर्खा सम्मेलनको आयोजना गरेको छ । संस्कार संस्कृति अलिखित भएपनि ठाउँपच्छिे फरक हुँदै जान थालेपछि एकरुपता कायम गर्न पुर्खा सम्मेलनको आयोजना गरेका हुन् ।

कुलुङ संघ ईकाई कार्य समितिले कुलुङहरुका चार्ड मिनारी दाचाम् चाक्चाकुरको अवसरमा पौष ११ देखि बालाको पेलुम्बामा पुर्खा सम्मेलन सुरु गरेका हुन् । सम्मेलनलाई भब्य कार्यक्रमको आयोजना गरेर उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा कुलुङ संघ केन्द्रीय कार्य समितिका महासचिव ईन्द्र होनित्ती प्रमुख अतिथीको रुपमा उपस्थित हुनुभएको थियो भने गाउँपालिका प्रमुख रामबहादुर कुलुङ लगायतका जनप्रतिनिधीहरुको पनि उपस्थिती रहेको थियो ।

पुर्खा सम्मेलन पौष १५ सम्म सञ्चालन हुने छ । उक्त सम्मेलनको लागि सिलिचोङ २ बाला भरिका साविकका वडाहरुबाट प्रतिनिधीमुलक रुपमा पुर्खाहरु बोलाईएको आयोजक समितिका अध्यक्ष जगत कुलुङले जानकारी दिनुभयो । यस सम्मेलनमा विहाबारी गर्ने तरिका, नागी पुज्ने तरिका, जन्म र मृत्युमा गर्ने संस्कार लगायतका विषयमा छलफल गरेर निचोड निकालिने समितिका सचिव राजकुमार कुलुङले जानकारी दिनुभयो । सम्मेलनबाट आएको निश्कर्षयुक्त विषयहरुलाई लिखित दस्तावेजको रुपमा तयार गरिने सचिव कुलुङको भनाई छ ।

यसरी लिखित रुपमा तयार गरिएको पुस्तक धार्मिक ग्रन्थको रुपमा विकास गर्दै लगिने र पछि विज्ञ पुर्खाहरु नहुँदा सोही ग्रन्थको आधारमा संस्कार जन्य कार्यहरु गर्न सकिने आयोजक कुलुङ संघ वडा कार्य समितिको दावी छ ।

सम्बन्धित समाचार