छोरीको उपचार गर्न सहयोग माग्दै सिलिचोङका नबीना




खाँदबारी । सिलिचोङ गाउँपालिका २ बालाका नवीना राई आईतबार दिउँसो बिरामी छोरी निरुतालाई लिएर पत्रकार महासंघ संखुवासभाको कार्यालय खाँदबारीमा आईपुग्नुभयो । काखमा सानी छोरी च्यापेर पत्रकारहरुलाई सहयोग माग्न आईपुग्नु भएको राईले बिरामी भएको एक बर्ष पुग्न लाग्दा पनि खर्च अभाव भएको कारण उपचार गराउन नसकेको दुखेसो पोखाउनुभयो ।

परिवारकै जेठी छोरी निरुता छिन–छिनमा बेहोस हुने, बर्बराउने, जंगल तिर एक्लै भाग्ने, टोक्ने र एकोहोरो हाँस्ने जस्ता विभिन्न लक्षणहरु देखाउदै आएपनि आर्थिक अभावका कारण राम्रो अस्पतालमा उपचार गराउन नसकेको नबीना बताउनुहुन्छ । कक्षा ८ मा अध्ययन गर्दै गरेकी छारोको यस्तो हालत भएपछि राम्रो डाक्टरलाई देखाउन पाए ठिक हुने अपेक्षा रहेको जिल्लाका पत्रकारहरुलाई सुनाउनुभयो । गाउँले छिमेकिहरुले छोरीको उपचार गराउन १३ हजार रुपैयाँ संकलन गरिदिएर खाँदबारी अस्पतालसम्म आएको राईले बताउनुभयो । ‘ठुलो अस्पतालमा डाक्टरलाई देखाउन मन छ, तर खर्च छैन’, आँखा टिल्पिलाउदै राईले भन्नुभयो ।

बिरामी छोरी पढ्ने स्कुलमा अधिकांस विद्यार्थीहरु त्यही प्रकृतिको बिरामी भएपनि डाक्टर सहितको टोली विद्यालयमा नै पुगेर उपचार गरेपछि ठिक भएको तर आफ्नो छोरी अझै ठिक नभएको राईले बताउनुभयो । गाउँमा पटक पटक धामी झाक्रीलाई झारफुक गराउदा समेत केही नलागेको राईको भनाई छ । खर्च भए घोपा क्याम्प (बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान) लैजान चोहेका राईले बताउनुभयो ।

ज्यालामजदुरी गर्दै आएका निरुताको बुबा कुलक्षेत्र राई भने कामको सिलसिलामा पोखरामा भएको राईले जानकारी दिनुभयो। पछिल्लो समय छोरीलाई रोगले च्याप्न थालेपछि श्रीमान पनि कामबाट फर्किन लागेको उहाँले जानकारी दिनुभयो ।

पत्रकारले समाचार लेखिदिए अरुले सहयोग गर्ने सुनेकोले पत्रकार महासंघमा आएको राईले बताउनुभयो । जिल्लाका पत्रकारहरुसँग सहयोगको याचना गर्नुहुँदै राईले भन्नुभयो, ‘कम्तीमा घोपा क्याम्पसम्म लगेर जचाउन पाए चित्त त बुझ्ने थियो ।’

पत्रकार महासंघमा सहयोगको याचना गर्न आईपुग्नु भएको राईलाई सान्त्वना दिदै जिल्लाका पत्रकारहरुले समाचार लेखेर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । समाचारकै माध्ययमबाट दाताहरुसँग अनुरोध गरेर थोरै भएपनि सहयोग गर्ने पत्रकार महासंघ संखुवासभाका अध्यक्ष ईन्द्र गिरीले आश्वासन दिनुभयो । यस्तो आश्वासन पाएपछि केही खुसीको चेहरा लिएर पुनः बिरामी छोरीलाई डोराउदै काखमा अर्को छोरी च्यापेर बाहिरिनुभएको थियो ।

यसै विच आर्थिक अभावका कारण उपचार नपाएको १३ बर्षिय बालिकाकाले लागि पत्रकार महासंघ संखुवासभाले सहयोगको अपिल गरेको छ । धेरै जनाले थोरै थोरै गरेर उपचार रकम जुटाईदिन जिल्लाका सवै पत्रकारहरुको प्रतिनिधित्व गर्दै पत्रकार महासंघका अध्यक्ष ईन्द्र गिरीले अनुरोध गर्नुभएको छ । बिरामीको आमाको कुनै पनि बैंक खाता नभएको कारण तत्काललाई पत्रकार महासंघ संखुवासभाको राष्ट्रिय बाणिज्य बैंकको खाता नम्बर २०८०००३३५३०१ मा सहयोग रकम जम्मा गर्न सकिने गिरीले बताउनुभयो ।

सम्बन्धित समाचार