सङ्खुवासभामा धान उत्पादन बढ्यो




सङ्खुवासभा । यस बर्ष सङ्खुवासभामा धानको उत्पादन बढेको छ । कृषी ज्ञान केन्द्र सङ्खुवासभाको तथ्याङ्क अनुसार अघिल्लो बर्ष भन्दा यस बर्ष बर्षे धान चार हजार छ सय ४६ मेट्रिक टन बढी धान फलेको हो ।

अघिल्लो बर्ष ३१ हजार ९ सय ९६ हजार मेट्रिकटन धान फलेकोमा यस बर्ष बढेर ३६ हजार ६ सय २२ मेट्रिकटन धान फेको हो । गत बर्षको तुलनामा यस बर्ष रोपाई पनि बढी क्षेत्रफलमा गरिएको थियो । गत बर्ष १२ हजार चार सय पचास हेक्टरमा रोपाई गरिएको थियो भने यस बर्ष १३ हजार पाँच सय ६४ हेक्टरमा धान रोपाई गरिएको थियो । यस बर्ष रोपाईको क्षेत्रफल मात्र नभएर उत्पादकत्व पनि बढेको कृषी ज्ञान केन्द्रको तथ्याङ्कमा छ । गत बर्षको प्रतिहेक्टर उत्पादकत्व २ दशमलब ६ रहेको थियो भने यस बर्ष २ दशमलब ७ रहेको छ ।

यस बर्ष अघिल्लो बर्षभन्दा चैते धानको उत्पादन पनि बढेको छ । गत बर्ष पाँच हजार एक सय ४० मेट्रिकटन चैतेधान उत्पादन भएकोमा यस बर्ष पाँच हजार तीन सय ३० मेट्रिकटन उत्पादन भएको हो । गत बर्षभन्दा यस बर्ष थोरै क्षेत्रफलमा चैते धान रोपाई गरिएपनि मौसम र हावापानी राम्रो भएकोले उत्पादन बढेको निमित्त प्रमुख गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो । अघिल्लो बर्ष २ हजार हेक्टर क्षेत्रफलमा चैते धान रोपाई गरिएको थियो भने यस बर्ष एक हजार ९ सय हेक्टरमा मात्र चैते धान लगाईएको थियो ।

यस बर्ष बर्षे धान रोपाईको समयमा पनि पर्याप्त पानी परेकोले राम्रो उत्पादन भएको कृषी ज्ञान केन्द्रका निमित्त प्रमुख आचार्यले जानकारी दिनुभयो । जिल्लाको केही स्थानमा उत्पादन घटेपनि अन्य स्थानमा बढेकोले समग्रमा धानको उत्पादन बढेको देखिएको उहाँले स्पष्ट पार्नुभयो । जिल्लाको चेवाँ बेशी, हेलुवा बेँशी, कल्छे बेँशी, केवा बेँशी, रहेले बेँशी, धुपु शेरा लगायतका स्थानहरुमा बढी धान उत्पादन हुने गर्छ । जिल्लामा उत्पादन भएको धान जिल्ला भित्र नै खपत हुँदै आएको छ । माथिल्लो क्षेत्रका नागरिकहरु दाँई गरेकै स्थानमा किन्न आउने गर्छन् । जिल्लामा हाल प्रतिमुरी (२० पाथी) २ हजार देखि २५ सय रुपैयाँसम्ममा विक्रि हुँदै आएको छ ।

सम्बन्धित समाचार