मनराम एसकाज पत्रकारिता पुरस्कार २०७६ शाक्यलाई दिने निर्णय



मनराम–एसकाज पत्रकारिता पुरस्कार २०७६ बाट संखुवासभामा रही पत्रकारिता गरिरहनु भएका कृष्णराज शाक्यलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएसन (एसकाज)ले तीन सदस्यीय छनौट समितको सिफारिसमा शाक्यलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कार छनौट समितिमा एसकाजका संस्थापक अध्यक्ष दिपेन्द्र बान्तवा, पूर्व अध्यक्ष शंकर खनाल र एसकाज अध्यक्ष हेमन्त गौतम रहनुभएको थियो । पत्रकारिताको क्षेत्रबाट जिल्लाको समग्र विकासमा उल्लेख्य योगदान पु-याएबापत उहाँलाई सम्मान गर्ने निर्णय गरिएको हो । २०७३ साल देखि प्रत्येक वर्ष मनराम फाउण्डेशनसँगको सहकार्यमा मनराम–एसकाज पत्रकारिता पुरस्कार वितरण गरिदै आएको छ । यसअघि संखुवासभा जिल्लामा रहि पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुयाउने क्रियाशिल पत्रकारहरु गंगा विष्ट, इन्द्र गिरी र दीपेन्द्र शाक्य मनराम–एसकाज पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसक्नु भएको छ ।

संखुवासभा खाँदबारी १ का कृष्णराज शाक्य झण्डै डेढ दशकदेखि पत्रकारितामा संलग्न हुनुहुन्छ । २०३२ सालमा जन्मनु भएका शाक्यले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गर्नुभएको छ । शाक्य हाल कारोबार राष्ट्रिय दैनिकका जिल्ला संवाददाता र संखुवासभाको पहिलो एफएम रेडियो खाँदबारी एफएममा स्टेशन मेनेजरका रुपमा कार्यरत हुनुहुन्छ । साथै राष्ट्रिय प्रसारणबाट बज्ने विभिन्न रेडियो कार्यक्रममा रिपोटिङ समेत गर्दै आउनु भएको छ । शाक्य निडर, इमान्दार र परिपक्व पत्रकारका रुपमा चिनिनुहुन्छ ।

मनराम एसकाज पत्रकारिता पुरस्कार आगामी २०७६ माघ १३ गते सोमबारका दिन काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिनेछ । पुरस्कार राशी २५ हजार रुपैया रहेको छ ।

सम्बन्धित समाचार