संघिय सांसद सुधन किराँतीद्वारा अरुण नदिमा फेरी उद्घाटन



खाँदबारी । भोजपुर र सङ्खुवासभाको विचमा रहेको सतिघाट स्थीत अरुण नदिमा राखिएको फेरी उद्घाटन गरिएको छ । आईतबार भोजपुरका संघिय सांसद सुधन किराँतीले एक कार्यक्रमको विच फेरीको उद्घाटन गर्नुभएको हो ।

षडानन्द नगरपालिकाका जनप्रतिनिधी र स्थानीय नागरिकहरुको उपस्थितिमा सांसद किराँतीले रिबन काटेर फेरीको उद्घाटन गर्नुभएको हो । फेरीको उद्घाटन गर्नुहुँदै सांसद किराँतीले भोजपुर र सङ्खुवासभाका नागरिकहरुले यात्राको क्रममा पाएको दुखको अन्त्य भएको बताउनुभयो । मोटरेबल पुल नहुँदा नागरिकहरुले पाईरहेको सास्ती देखेर आफुहरु फेरी मात्र भएपनि निर्माण गर्न जुटेको उहाँले जानकारी दिनुभयो । भोजपुर र सङ्खुवासभा जोड्ने मोटरेबल पुल तत्काल बनिहाल्ने अवस्था नरहेकोले फेरिबाट भएपनि नागरिकहरुले सुविधा पाउने किराँतीले दावी गर्नुभएको छ ।

फेरी निर्माणको लागि संघिय सांसद क्षेत्र विकास कोषबाट ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट ७५ जाख र षडानन्द नगरपालिकाको ५५ लाख रुपैयाँको लागतमा फेरी निर्माण गरिएको हो । यस अघि खाँदबारीबाट सतिघाटसम्म मात्र सवारी साधन चल्दै आएको थियो भने अरुण पारिबाट मात्र सवारी साधन चढ्न पाईन्थ्यो । वारी खाँदबारीको सतिघाटमा सवारी साधनबाट ओर्लिएपछि अरुण पारिको सवारी साधनसम्म पुग्न झोलुङ्गे पुलबाट तर्नु पथ्र्यो । यहाँ फेरि राखिएपछि भने उक्त समस्या समाधान भएको छ । हिउँदको समयमा भने काठको डुङ्गाबाट जोखिम मोलेर नदि वारपार गरिदै आएको थियो ।

उद्घाटन गरिएको फेरि सञ्चालनको लागि तीन जना अपरेटर राखिएको षडानन्द नगरपालिकाका मेयर बिरबल राईले जानकारी दिनुभयो । उक्त अपरेटरहरुको पारिश्रमिक ब्यवस्थापनमा सहजताको लागि फेरी प्रयोगकर्ताहरुबाट थोरै राजश्व लिने योजना रहेको नगर प्रमुख राईको भनाई छ । तर कुन सवारीबाट कत्ति लिने भन्ने निर्णय भईनसकेको र अवको कार्यपालिकाको बैठकले राजश्व दर तोक्ने राईले जानकारी दिनुभयो । फेरीबाट दैनिक करिव २ सय सवारी साधन पार गर्ने अनुमान गरिएको छ । आईतबार उद्घाटन गरिसँगै डेढ सय सवारी साधन आवतजावत गरेको थियो ।

सम्बन्धित समाचार