संखुवासभामा १३ हजार बढी बालबालिकालाई दादुरा रुबेला खोप लगाईदै




सङ्खुवासभा । देशभर सञ्चालन हुने दादुरा रुबेला खोप अभियानको क्रममा सङ्खुवासभामा विहिबारबाट खोप दिन सुरु गरिएको छ । देशमा नै पहिलो चरणको अभियान अन्तर्गत सङ्खुवासभाका बालबालिकाहरुलाई खोप दिन सुरु गरिएको हो ।

यस पटक जिल्लामा ९ महिनादेखि पाँच बर्ष मुनीका १३ हजार दुई सय ६९ जना बालबालिकाहरुलाई दादुरा रुबेला खोप लगाईदैछ । सङ्खुवासभामा दश स्थानीय तहमा तीन चरणमा विभाजन गरेर अभियान सञ्चालन गरिने भएको हो । पहिलो चरण अन्तर्गत फागुन १ गतेदेखि ६ गतेसम्म जिल्लाको तीन स्थानीय तहहरुमा खोप अभियान सञ्चालन गरिने भएको हो । खाँदबारी नगरपालिका, चिचिला गाउँपालिका र सभापोखरी गाउँपालिकामा पहिलो चरणमा खोप दिईने जिल्ला स्वास्थ्य कार्यालयले तयारी गरेको छ । त्यस्तै फागुन ११ गतेदेखि १६ गतेसम्म दोश्रो चरणमा चैनपुर, मादी र धर्मदेवी नगरपालिकामा खोप अभियान सञ्चालन गरिने छ । तेश्रो चरण अन्तर्गत २० देखि २३ गतेसम्म भोटखोला र मकालु गाउँपालिकामा दादुरा र रुबेला विरुद्धको खोप दिईने कार्यतालिका बनाईएको छ ।

यस बर्ष साविकको प्रत्येक वडामा दक्ष र तालिम प्राप्त स्वास्थ्यकर्मीहरु पुगेर खोप दिईने भएको छ । कोही पनि बालबालिका खोपबाट बञ्चित नहुनको लागि स्वास्थ्य कार्यालय अन्तर्गतका कर्मचारी र स्वास्थ्य स्वयंसेविकाहरुको सक्रियतामा प्रत्येक बालबालिकाहरुको लगत सङ्कलन गरिएको स्वास्थ्य कार्यालय सङ्खुवासभाका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिनुभयो । प्रत्येक टोलमा गएर खोप प्राप्त गर्ने बालबालिकाको अविभावकहरुलाई खोप लिन आउनको लागि निमन्त्रणा पत्र समेत दिईएको खोप समन्वय समितिका अध्यक्ष सुमन शाक्यले बताउनुभयो । खोपबाट कोही पनि बञ्चित नहुनको लागि पर्याप्त प्रचारप्रसार समेत गरिएको शाक्यको भनाई छ । यस पटक खोप सञ्चालनको लागि ३ सय ३३ स्वास्थ्य कर्मचारी खटाईएको छ भने ६ सय ६६ जना स्वयंसेवकहरुहरु पनि परिचालन गर्न लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

दादुरा रुबेलाको खोप नलगाए त्यही रोगको कारण बालबालिकाको ज्यान समेत जान सक्ने प्राथमिक स्वास्थ्य केन्द्र ताम्कुमा कार्यरत चिकित्सक रुपेश कर्णको भनाई छ । दादुरा रुबेलाको भाईरसकै कारण अन्य विभिन्न रोगहरु लाग्ने र रोग लागिसकेपछि उपचार सहज नभएकोले रोग लाग्न नदिन अनिबार्य खोप लगाउनु पर्ने चिकित्सक कर्णले बताउनुभयो । दादुरा रुबेला भाईरस संक्रमित महिलाले बच्चा जन्माए विकलाङ्ग जन्मिने भएकोले सवै वालवालिकाहरुलाई अनिबार्य खोप दिनु पर्ने चिकित्सक कर्णको भनाई छ ।

सम्बन्धित समाचार